पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रूपमा पुरा भएको बताएका छन्।
संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया सुरू गरिएको जानकारी दिए।
‘स्थानीय तहको निर्वाचनसँगै सुरू भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रूपमा पुरा भएको छ, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ’, उनले भने।
सरकारले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए।रासस