मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरू आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला भएका छन्।
संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रूपमा भाग लिन उनीहरु काठमाडौं आइपुगेका हुन्।सो निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य मतदाता छन्।
त्यस्तै, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ सदस्य मतदाता छन्। राष्ट्रपति पदको निर्वाचनका लागि यतिका संख्यामा जनप्रतिनिधि पहिलो पटक राजधानीमा उपस्थिति भएको हो।
संघीय संसद् भवन परिसरको पूर्वपट्टिको खुला स्थानमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। संघीय संसद्को तुलनामा प्रदेशसभा सदस्यको संख्या बढी भएकाले प्रदेशसभा सदस्यको लाइन निकै लामो देखिएको छ।रासस