संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो।
मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई (दुवै भोजपुरका) प्रतिष्पर्धामा छन्।
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ।
राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ।