अदालतको अवहेलना मुद्दा खेपिरहेका डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकलाई सजाय दिने कि नदिने भन्नेबारे आइतबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस जारी छ।
केसी र कान्तिपुरले प्रधानन्यायाधीश गोपाल पराजुलीको विवादित जन्ममिति र नागरिकताका विषयमा बोलेर र समाचार लेखेको भन्दै अवहेलना मुद्दा परेको हो।
प्रधानन्यायाधीश पराजुलीले आइतबार यी दुवै मुद्दा एकैसाथ राखेर आफूसहितको पूर्ण इजलासमा तोके।
१२ बजे प्रधानन्यायाधीश पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, केदारप्रसाद चालिसे, दीपक कार्की, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी इजलास प्रवेश गरे।
डाक्टर केसीविरुद्धका वकिलको रूपमा उपस्थित वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहसका लागि बारमा उभिए। त्यति नै बेला पछिबाट बरिष्ठ अधिवक्ता शम्भु थापाले कुर्सीबाट नउठिकनै भने, 'श्रीमान, बहस सुरु हुनुभन्दा अघि हामीले केही कुरा गर्नु छ।'
उनी कान्तिपुर दैनिकका मुख्य वकिल हुन्।
'तपाईंको पालो आएपछि भन्नुस्,' पराजुलीले आदेश दिए।
गोविन्द केसी पक्षका अधिवक्ता ओमप्रकाश अर्यालले पनि आफ्नो केही कुरा भएको बताए।
पराजुलीले उनलाई पनि भने , 'अहिले उहाँको पालो छ, उहाँ बोल्नुहुन्छ।'
श्रेष्ठले यतिन्जेल आफ्ना फाइलहरू खोलिसकेका थिए।
'श्रीमान् डाक्टर केसीले शशि शर्माको फैसलापछि जे-जे कुरा बोल्नुभएको छ, तिनले अदालतबारे भ्रम सिर्जना गर्छन्,' बहस सुरू गर्दै उनले भने।
उनी सिधै डाक्टर केसीले उठाएका प्रधानन्यायाधीशको जन्म मिति विवादमा प्रवेश गरे। अर्का न्यायाधीश सुरेन्द्रवीर सिंह बस्नेतको नागरिकताबारे सर्वोच्चले गरेको फैसला पढे। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पराजुली र बस्नेतको सवालमा कानूनविपरित निर्णय गरेको जिकिर गरे।
यो त्यही फैसला हो जसलाई टेकेर पराजुली प्रधानन्यायाधीश भएपछि आफ्नो जन्ममिति आफैं सच्याएका थिए।
यो मुद्दा पढिसकेपछि बरिष्ठ अधिवक्ता श्रेष्ठले अदालतको अवहेलनासम्बन्धी १६ वटा नजिर इजलासलाई क्रमश: टिपाए।
त्यसपछि डाक्टर केसीले जारी गरेको विज्ञप्ति पढे। उक्त विज्ञप्तिले 'प्रधानन्यायाधीशमात्र नभएर सिंगो न्यायालयलाई माफियाको चंगुलमा फसेको भनेको' बताए। यसरी सिंगो अदालतलाई मुछेकाले डाक्टर केसीलाई मुद्दा लगाउनु परेको उनको जिकिर थियो।
'उहाँले अदालतसमक्ष दिएको बयान पनि पूरै 'सनसनी मच्याउने' खालको छ।अदालतका न्यायाधीशलाई प्रभावित पार्ने खालको छ,' उनले प्रश्न गरे, 'उहाँले प्रधानन्यायाधीशको राजीनामा माग्नुभएको छ। के सडकबाट माग्दैमा प्रधानन्यायाधीशको राजीनामा हुन्छ? यो देशमा संविधान छैन? कानुन छैन?'
केसी सरकारी डाक्टर भएकोले उनले अनसन हड्तालजस्ता गतिविधि गर्न नपाउने पनि उनले जिकिर गरे।
'उहाँले विदा लिएर अनसन बसें भन्नुहुन्छ। भोलि निजामति कर्मचारी विदा लिएर अनसन बस्लान्, प्रहरी बस्लान्, सेना बस्लान् त्यसो भए के हुन्छ?,' उनले भने, 'सरकारी जागिरेले के गर्न हुन्छ के गर्न हुन्न भन्ने पनि आदेश होस् श्रीमान्। र गोविन्द केसीलाई अदालतको अवहेलनामा हदैसम्मको कारबाही होस।'
त्यसपछि वरिष्ठ अधिवक्ता श्याम खरेलले बहस गरे। उनले केसीले प्रधानन्यायाधीशविरुद्ध बोलेको कुरा अदालतको अवहेलना भएको जिकिर गरे। केसीकै जन्ममिति पनि तीन वटा भेटिएको बताए। उनले आफ्नो बहसमा पत्रिकाको स्वतन्त्रताको हद के हो भनेर पनि सोधेका थिए।
वरिष्ठ अधिवक्ता कुमार रेग्मीले डाक्टर केसीले भ्रष्ट र माफिया भएको भन्दै डाक्टर केसीबाट आएको विज्ञप्तिले अदालतको अवहेलना गरेको जिकिर गरेका थिए।
'अदालत भनेको न्यायाधीश नै हो श्रीमान्,' उनले भने, 'न्यायाधीशबिनाको इजलास त टेबुल कुर्सीमात्र हुन्छ। त्यसैले न्यायाधीशलाई गरिएको गाली अदालतको अवहेलना हो।'
त्यसपछि उनले केही भारतीय र नेपाली अदालतका नजिर पढेर सुनाए। अर्का वकिल माधव बस्नेतले डाक्टर केसीविरुद्ध बहस गरेपछि कान्तिपुर दैनिकविरुद्ध अवहेलना मुद्दा लगाएका तोयानाथ ढुंगानाले बहस गरेका थिए।
उनले आफूले कान्तिपुरलाई अवहेलना मुद्दा लगाउनुको कारण बताए।
'श्रीमान् सुरूमा कान्तिपुरले प्रधानन्यायाधीशका ४ वटा जन्ममिति भएको भनेर लेख्यो, त्यसपछि पनि लेख्यो मैले अब त लेख्न छोड्छ कि भनेर १५ दिन कुरें तर लेख्न छोडेन अनि यो त अति भयो भनेर अदालतको अवहेलना मुद्दा दिएको हुँ,' उनले भने।
मिडियामा प्रधानन्यायाधीश पराजुली र अदालत भनेको छुट्टै हो भन्ने कुरा उठिरहेको र त्यो बहस सही नभएको उनको जिकिर थियो।
'श्रीमान् तपाईंहरू इजलासमा आउनुअघि हामी सबै यहाँ कुररहेका थियौँ। जब तपाईँहरू आउनुभयो, हलमा भएका सबै जना उठे,' उनले भने, 'न्यायाधीश विनाको इजलास त हुँदो रहेनछ नि। न्यायाधीश नहुने बेलासम्म यहाँ दराज थिए टेबुल थिए, तर अहिले यो इजलास भयो। त्यसैले न्यायाधीशको अवहेलना गर्नु भनेको अदालतको अवहेलना गर्नु हो।'
कान्तिपुरले प्रधानन्यायाधीशविरुद्ध निरन्तर लेखेर उनलाई तनाव दिएको समेत ढुंगानाको जिकिर थियो।
'हाम्रो प्रधानन्यायाधीशलाई एउटा कम्पनीले जे पनि लेख्ने?' उनले भने, 'कान्तिपुरले एउटा न्यायाधीशविरुद्ध लेखेर उहाँलाई बस्न र खान नदिने भयो। यसरी निरन्तर लेख्दा न्यायाधीशको पनि त मन हो उसका पनि परिवार हुन्छन्, न्यायाधीशको दिमागमा असर गर्न सक्छ र न्यायसम्पादनमा अवरोध आउँछ। त्यसैले कान्तिपुरले अदालतको अवहेलना गर्यो भनेर मैले निवेदन गरेको छु। सञ्चालकदेखि रिपोर्टरसम्मलाई कारवाही होस्।'
त्यसपछि बोलेका अधिवक्ता अरुण ज्ञवाली पनि कान्तिपुरले निरन्तर पराजुलीबारे समाचार लेखेर उनलाई मानसिक रूपमा विचलित बनाउन खोजेको आरोप लगाए।
'न्यायाधीशको पनि मन हुन्छ। दिनदिनै नयाँनयाँ हेडलाइन बनाइएको छ। यसरी एउटै कुरा दिनदिनै लेखेर न्यायाधीशको मन उद्वेलित गराउने? यसले त सिधै न्यायसम्पादनमा असर गर्छ,' उनले भने, 'यति हुँदा पनि अवहेलनामा सजाय गरेन भने अदालत कतै तर्सिएको त हैन भन्ने सन्देश जान्छ श्रीमान्। त्यसैले विपक्षी कान्तिपुरलाई हदैसम्मको सजाय होस।'
डाक्टर केसी र कान्तिपुर दैनिकले अदालतको अवहेलना गरेको भन्दै आज ९ जना वकिलले बहस गरेका थिए। मुद्दाका पक्षका वकिलको बहस नसकिएपछि बहस भोलि पनि जारी हुनेछ।
मुद्दाका पक्षका वकिलको बहस सकिएपछि विपक्षी वकिलले बहस गर्नेछन्।
आइतबारको सुनुवाइभरि इजलासमा बसेका डाक्टर केसीले बाहिर निस्केपछि सञ्चारकर्मीसँग प्राकृतिक न्यायको सिद्धान्तविपरित यो मुद्दा हेरिरहेका प्रधानन्यायाधीश पराजुलीले गरेको फैसला आफूलाई मान्य नहुने बताए। उनले प्रधानन्यायाधीश पराजुली न्यायलयका लागि विषको बिउ भएको भन्दै उखेलेरै फाल्ने समेत बताए।
'पराजुलीले प्राकृतिक न्यायको सिद्धान्त विपरित यो मुद्दा हेरिरहेका छन्। उनैले अदालतको अवहेलना गरेका छन्। उनले गरेको यो फैसला हामीलाई मान्य छैन,' उनले भने, 'यस्तो काम गर्ने गोपाल पराजुलीलाई महाअभियोग लगाइयोस्। उनी न्यायलयका लागि विषको बिउ हुन् जसलाई उखेलेर फाल्नु हामी नागरिकको कर्तव्य हो।'