प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संसदमा दुई तिहाइ बहुमत पाएका छन्।
आइतबार दिउसो १ बजेदेखि बसेको प्रदेश सभा बैठकमा पोखरेलले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेका थिए।
पोखरेललाई उनको दल नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
एमालेका ४१, माओवादी केन्द्रका १९, संघीय समाजवादी फोरमका ५ र राष्ट्रिय जनमोर्चाका १ गरी मुख्यमन्त्री पोखरेलको पक्षमा ६७ मत परेको छ। त्यस्तै विपक्षमा नेपाली कांग्रेसको १८ मत परेको छ। नेपाली कांग्रेसका एकजना सांसद उपस्थित भएनन्।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत दिन आग्रह गरेपछि संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका तिलकराम शर्मा, संघीय समाजवादी फोरमका सहसराम यादव, राष्ट्रिय जनमोर्चाकी तारा जिसीले मुख्यमन्त्री पाखरेललाई आफ्नो पार्टीको तर्फबाट समर्थन गरेका थिए।
फागुन ३ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले २४ दिनपछि विश्वासका मत लिएका हुन्।
उपसभामुख निर्वाचनमा पनि यी दुई दलले बाम गठबन्धनको उम्मेद्वारको पक्षमा समर्थन जनाएका थिए।
राष्ट्रिय जनता पार्टीका एकजना समानुपातिक सांसदले भने आन्तरिक विवादको कारण सपथ ग्रहण गरेका छैनन्।
प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले सबैलाई पायक पर्ने गरी राजधानी तोक्नुपर्ने बताएका छन्। उनले भौतिक संरचना प्रयाप्त नहुँदा काम गर्न असहज भएको भन्दै प्रदेशसभा रहेको भवनमा बुटवल उद्योग वाणिज्य संघको समेत सचिवालय रहेकोले अन्यत्र सार्न आग्रह गरेका छन्।
हाल भएका मुख्यमन्त्री कार्यालय र अन्य मन्त्रालयलाई भौतिक संरचना अभाव रहेको भन्दै उनले साँघुरो स्थानबाट जनतालाई प्रभावकारी सेवा दिन नसकिने बताए।
संसदको अर्को बैठक चैत ४ गते बोलाइएको छ।