प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरूलाई सुझाव दिएका छन्।
वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भने ‘दाँया र बाँँया घुँडो नचिन्ने, एउटा बेडको बिरामीको अप्रेसन गर्नु पर्ने अर्कै बेडको बिरामको अप्रेसन गर्ने डाक्टर छन् भन्ने सुनेको छु । के पढेर आएका डाक्टरहरूले यसो गर्छन्? त्यस कारण चिकित्सा शिक्षालाई गुणस्तरीय र विश्वसनीय बनाउनु पर्दछ।’
यसले चिकित्सा शिक्षाको गुणस्तरीयतामा प्रश्न उब्जाएको प्रधानमन्त्री ओलीले बताए।
सरकारी अस्पतालको गुणस्तरीयतामा जनस्तरबाट प्रश्न उठ्ने गरेकोले यसलाई अन्त्य गर्न ऐतिहासिक वीर अस्पताल अघि सर्नु पर्ने प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले विषादीयुक्त खाद्यपदार्थ मानव स्वास्थ्यका लागि समस्या भएको उल्लेख गर्दै भने ‘नेपाल जस्तो स्वस्थ हावापानी भएको देशमा विषादीको प्रयोगले गम्भीर स्वास्थ्य असन्तुलन सृजना गरेको छ । यसलाई न्यून गर्न सबैको प्रयास जरुरी छ ।’