प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट दुई तिहाईको बहुमत प्राप्त गरेका छन्।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत पर्यो।
एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्यमन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ। जनमोर्चा यस अघि प्रतिपक्षमा थियो।
सत्तारुढ दल एमालेको २७ माओवादीको १२ मत थियो भने जनमोर्चाको ३ मत पनि थपिएको छ। माओवादीबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले शुक्रबार मत दिएनन्।
विपक्षमा कांग्रेसको १५ र नयाँ शक्तिको २ गरी १७ मत परेको छ।
प्रदेश नम्बर ४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका राजिव गुरुङ (दिपक मनाङ्गे) भने लगातार अनुपस्थित थिए ।