रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रीत भएको बताएका छन्।
एमाले महासचिव समेत रहेका मन्त्री पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रीत हुन सबै राजनीतिक दलहरूलाई आह्वान पनि गरे।
शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) को १२ औं राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धि र विकासमा लागि नपर्ने राजनीतिक दलहरू अप्रासंगिक हुँदै जाने चेतावनी समेत दिए।
रक्षामन्त्री पोखरेलले प्याब्सनले मुलुकको शैक्षिक क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्दै अब मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय कार्यभार पूरा गर्ने योजना तय गर्न पनि आग्रह गरे।
उनले मुलुक निर्माणका लागि नीति, योजना, कार्यक्रम र आचरण सबै हिसाबले लाग्नुपर्ने आवश्यकता पनि औंल्याए।
रक्षामन्त्री पोखरेलले राजनीतिक संक्रमणकाल सकिएकाले अब सबैले मुलुकको आर्थिक विकासलाई मूल एजेण्डा बनाएर अघि बढ्नुको विकल्प नरहेको पनि स्मरण गराए।