प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कार्वाही हुने चेतावनी समेत दिएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्याश गर्दै उनले समयभित्रै गुणस्तरीय काम गर्न निर्देशन दिए।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समय भित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफू सर्जिकल भवनको शिलान्याश गर्न आएको पनि स्पष्ट पारे।
उनले ‘अबको नेपाल गतिशील नेपाल’ भन्दै त्यसमा आलटाल गर्ने छुट कसैलाई नहुनेतर्फ समेत सचेत गराए।
प्रधानमन्त्री ओलीले देश बनाउन आफूले कडाभन्दा कडा कदम चाल्ने घोषणा गरे। उनले सरकारले सबै निकायले काम गरे, नगरेको कडा निगरानी राख्ने पनि बताए। सरकारले काम गर्नेलाई मात्रै सम्मान गर्ने नीति लिने प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले आफू भ्रष्टाचार नगर्ने र कसैले गरे सैह्य नहुने चेतावनी पनि दिए।
प्रधानमन्त्री ओलीले मुलुकको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
वीर अस्पताल परिसरभित्र बन्न लागेको ६ सय ५० बेडको सर्जिकल भवन निर्माणका लागि २ अर्ब बजेटको व्यवस्था गरिएको छ। साढे २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको सो भवन अत्याधुनिक हुने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले बताए।
https://www.youtube.com/watch?v=0cBYJH9Rk4g