नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखमा उम्मेदवारी दिएका छन्।
नेता महराले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्। बामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका महरालाई माओवादी केन्द्रका नवनियुक्त प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र एमाले नेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले समर्थन गरेका हुन्।
त्यस क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु सहभागी थिए। भोलि शनिबार अपरान्ह १ बजे संघीय संसद भवनमा सभामुखको निर्वाचन हुँदैछ। उपप्रधानमन्त्री समेत भईसकेका महरालाई माओवादी केन्द्रले शुक्रबार बिहान सभामुखमा उम्मेदवारी बनाउने औंपचारिक निर्णय गरेको थियो।
एमालेले राष्ट्रिय सभाको अध्यक्ष लिने सहमति भएपछि माओवादी केन्द्रको तर्फबाट महरालाई सभामुखको उम्मेदवार बनाइएको हो। सभामुखमा उम्मेदवारी दिएलगत्तै महराले संविधानलाई कार्यावयन गराउन कानुन निर्माणको कामलाई उच्च प्राथमिकता दिने बताए।
उनले सबै सांसदहरुको विचारलाई प्रतिनिधिसभामा उत्तिकै सम्मान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। महराले कांग्रेसले पनि आफूलाई सभामुख बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले कांग्रेसले उम्मेदवारी नदिनु सकारात्मक भएको प्रतिक्रिया दिए। ‘अब उहाँहरूले मेरा पक्षमा भोट दिनुहुन्छ भन्ने विश्वास छ,’ महराले भने। कांग्रेसले उम्मेदवारी नदिने भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध सभामुख हुने भएका छन्।
माओवादी केन्द्रका नेता महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनु भएका थिए।
सभामुखको निर्वाचन फागुन २६ गते हुँदैछ।
https://www.youtube.com/watch?v=bnEHSq6WHZo&feature=youtu.be