प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी पढाउ योजना लागू गर्ने, महिलामाथि हुने हिंसा, दाइजो प्रथा लगायतलाई नियन्त्रण गर्न कानुन बनाउने प्रतिवद्धता दोहोर्याएका छन्।
उनले शपथका बेला आफ्नो प्रदेशमा बालिका शिक्षालाई प्राथमिकता दिने, महिलामाथि हुने हिंसा र दाइजो नियन्त्रण गर्ने योजना सुनाएका थिए।
नारी दिवसको अवसरमा उनले 'बेटी पढाऊ, घर अघि बढाऊ' भन्ने नारासहित अभियान सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
'प्रदेशमा महिलाको अवस्था दयनीय छ भन्ने मलाई थाहा छ। यस्तो अवस्थाबाट महिलालाई मुक्ति दिलाउने शिक्षा नै हो भन्ने लाग्छ। त्यसैले मैले अभियानकै रूपमा यसको सुरुआत गर्नुपर्छ भनेर योजना बनाएको छु,' मुख्यमन्त्री राउतले सेतोपाटीसँग भने, 'अभियान नै चलाएमा त्यसको सन्देश पनि राम्रो र छिटो जाला भन्ने ठानेर यसलाई प्राथमिकतामा राखेको छु। बेटी पढाए घर र समाज अघि बढ्छ विकास हुन्छ।'
अभियानमा सहयोग गर्न केन्द्र सरकार र विश्व बैंकसँग उनले आग्रह गरेका छन्।
२ नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य, मातृ मृत्युदर र महिला हिंसा अन्य प्रदेशको तुलनामा बढी भएको उनले बताए।
मधेसमा महिलामाथि हुने हिंसा र दाइजो प्रथालाई नियन्त्रण गर्न कानुन बनाएर त्यसको कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।
'हामी सभ्य समाजको कल्पना त गर्छौँ तर प्रदेशका आधा महिला अशिक्षित छन्। समाजको संरचना कारणले महिलालाई हेर्ने दृष्टीकोणमा समस्या छ, मुलत: शिक्षाले नै समाजलाई परिवर्तन गर्ने हो। महिलामाथि हुने हिंसा, दाइजो प्रथा, बालविवाहजस्ता कुरा नियन्त्रण गर्न कानून बनाउनुपर्छ,' उनले भने, 'कानून बनाउने भाषण गरेर हुँदैन। म कानुन पनि बनाउँछु र कार्यान्वयन पनि गर्छु।'
प्रदेश २ का मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले महिला हिंसा, दाइजो, बालविवाह र बोक्सी प्रथा नियन्त्रण गर्न कानून बनाउने छलफल आजैदेखि सुरु भएको बताए।
'प्रदेश २ मा महिला हिंसा लगायतका कुरितिलाई दण्डनीय बनाउने ऐन ल्याउन मुख्यमन्त्रीले पहिलै प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। आजदेखि छलफल सुरु भएको छ,' उनले भने, 'विधेयक बनाएर प्रदेश सभामा पेश गर्न त्यसमाथि छलफल गर्न र पास गर्न भने केही समय लाग्छ।'