राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताएकी छन्।
दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीको ‘राष्ट्रपतिको भूमिका तटस्थ भएन भन्ने आरोप छ नि’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ। यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु।’
देशको हितलाई सर्वाेपरि राखेर नेपालको संविधानको मूल भावना र मर्मअनुरुप आफूले काम गरेको बताउँदै उनले भनिन्, ‘यहाँहरूले त्यसको राम्रो मूल्यांकन गर्नुहुनेछ।’
आफूले उम्मेदवारी दिएपछि सबैजसो राजनीतिक दलबाट समर्थन पाएको बताउँदै राष्ट्रपति भण्डारीले निर्वाचनमण्डलबाट सहयोगको अपेक्षा व्यक्त गरिन्। उनले राजनीतिक दल, सांसद र सञ्चार क्षेत्रबाट हालसम्म पुर्याइएको समर्थन तथा भोलिका दिनको सहयोगका लागि आभार र कृतज्ञता प्रकट गरिन्।
यसैबीच नेकपा (एमाले)का नेता सुवास नेम्वाङले नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिका रूपमा छोटो कार्यकालमा राष्ट्रपति भण्डारीबाट निर्वाह भएको भूमिकालाई ध्यानमा राखेर पार्टीले दोस्रो कार्यकालका लागि उनलाई नै उम्मेदवार छनोट गरेको प्रतिक्रिया दिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनुलाई आफूले सम्मानकै रूपमा ग्रहण गरेको उनले बताए। रासस