निर्वाचन आयोगले राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन गरेको छ।
आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन गरेको हो।
राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिए।
बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पुर्याएको योगदानप्रति धन्यवाद दिएका थिए।
बैठकमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी. एवं अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।