‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ डा भोला रिजालले लेखेका यस गीतमा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले स्वर दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधनको सुरूमै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशमा संकटकै स्थिति रहेको आफूलाई आभास भएर राष्ट्रभावबाट ओतप्रोत यही गीतको दुई हरफ प्रस्तुत गरेको सुनाए।
मुलुकलाई सधैँ अन्योलमा राखिएको र राजनीतिक खिचातानी मात्रै गरिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको भन्दै नेता नेपालले भावपूर्ण शैलीमा भने, ‘अझै पनि देश डुब्न दिने हो भने हामी सबै डुब्छौं। कोही पनि बच्दैनौ।’
नेता नेपालले भ्रष्टाचारको जालो तलदेखि माथिसम्म फैलिएकाले विकास निर्माणको काम समेत प्रभावित हुने गरेको तथा जनताले लामो समयसम्म कष्ट भोग्नु परेको गुनासो पोखे।
राजनीतिक स्थिरताको अभावमा मुलुकले आर्थिक समृद्धिको दिशा लिन नसकेको, रोजगारीको खोजीमा लाखौं युवा विदेशी भूमिमा भौतारिइरहनु परेको, एकाध वर्षमा सकिने विकास निर्माणको काममा वर्षौं लाग्ने गरेको, कोही कसैले पनि जिम्मेवारी नलिने प्रवृत्ति हावी भएको भन्दै वर्तमान सरकारले यी सबै अव्यवस्था हटाउनैपर्ने बताए।
नेता नेपालले अझै अगाडि बढेर अर्को गीत पनि प्रतिनिधिसभा बैठकमा सुनाए। गायक शिशिर योगीको स्वर, डा विश्वनाथ बरालको रचना रहेको ‘म एउटा मानिस खोजिरहेको छु’ भन्ने गीत सुनाउँदा प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद एकाग्र मात्रै बनेनन् देशमा मौलाएको अराजकता र दण्डहीनताको अन्त्यका विषयमा सोचमग्न बनेका थिए।
नेता नेपालले विकास निर्माणको काममा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले अनावश्यक हस्तक्षेप गर्ने गरेको विगतको तितो अनुभव समेत सुनाए।
भ्रष्टाचारको जालो तोडेर, कानूनी एवम् प्रशासनिक संरचनामा परिवर्तन तथा विकास निर्माणमा काम भएको छ कि छैन भन्ने हेर्न अनुगमन संयन्त्र बनाउन वर्तमान सरकार क्रियाशील हुनैपर्ने नेता नेपालको सुझाव थियो।
राष्ट्र निर्माणका लागि सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने भएपनि विगतमा त्यस्तो नभएको, चासो व्यक्त गर्ने निकायले भन्दा अरुले बढ्ता चासो राख्ने गरेको र विकास निर्माणमा समेत अनावश्यक चलखेल भएको भन्दै उनले अब त्यस्तो छुट कोही कसैलाई पनि नहुने बताए।
नेता नेपालले पटक पटक भ्रष्टाचारको प्रसंग जोड्दै मुलुक अगाडि बढ्न नसक्नुको मुख्य कारण भनेकै जिम्मेवारी लिएका व्यक्ति, नीति नियमको अवरोध तथा प्रशासनिक दक्षताको अभाव हो भने।
अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भ्रष्टाचार, अनियमितता र कुसंस्कारका कारण मुलुकले गति लिन नसकेको बताए।
‘कानुनी शासनमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेमाथि दण्डको व्यवस्था हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘हाम्रोमा काम गर्ने गरेको गर्यै, नगर्ने पुरस्कृत भएको भयै हुने प्रवृत्ति मौलायो। अब कोही कसैलाई पनि त्यस्तो छुट दिन सकिँदैन।’
विगतमा पद प्राप्तिका लागि जस्तोसुकै काम गर्ने प्रवृत्ति मौलाएको, जनताका समस्या दिनहुँ बढ्दै गएको, रोजगारीको खोजीमा लाखौं युवा खाडी मुलुकमा पुगेका र त्यहाँ मृत्यु भएकालाई समेत स्वदेश ल्याउन नसकिएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष दाहालले स्वदेशमा नै रोजगारीका
अवसर सिर्जना गर्न वर्तमान सरकारले ठोस काम गर्ने विश्वास व्यक्त गरे।
भ्रष्टाचारको जरो नउखेल्दासम्म आर्थिक समृद्धि र विकासको चाहना पुरा नहुने भन्दै पूर्व प्रधानमन्त्री दाहालले इमान्दार भएर काम गर्ने हो भने एकाध वर्षमा मुलुकको कायापलट हुने आत्मविश्वास आफूहरूसँग रहेको बताए।रासस