आगामी फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएको छ।
राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा हुने जानकारी गराएकी हुन्।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा उनले राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार ३० गते बुधबार १ बजे राष्ट्रियसभा अध्यक्षको निर्वाचन तोकिएको स्पष्ट पारे।
जेष्ठ सदस्य भट्टले राष्ट्रियसभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न पनि संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए।
त्यसैगरी, बैठकले राष्ट्रियसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ।
नौं सदस्यीय मस्यौदा समिति पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो। एमालेका सांसद खिमलाल भट्टराईले नियमावली मस्यौदा समिति गठन गरियोस् भनि राखिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी रावल, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दिनानाथ शर्मा, जीवन बूढा, बृशेषचन्द्र लाल र प्रमिला कुमारी सदस्य रहेका छन्।
संविधानको धारा १ सय ४ को उपधारा १ बमोजिम राष्ट्रियसभा संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समितिहरूको गठन, कामकार्वाही संचालन गर्न नियमावली मस्यौदा समिति गठन गर्ने व्यवस्था गरिएको छ।