प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले शक्तिको अधिक केन्द्रीकरण गर्दा भ्रष्टीकरणको जन्म हुने भन्दै सचेत रहन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराए।
उनले सरकारलाई शक्ति सन्तुलनको सिद्धान्त अनुसार अघि बढन पनि सुझाव दिए।
कांग्रेस सांसद अधिकारीले सरकारले बहुमतको आठमा लोकतान्त्रिक शक्तिहरूलाई दबाब खोजेको आरोप समेत लगाए। उनले लोकतान्त्रिक आचरणको जगमा मुलुकलाई समृद्ध बनाउने गरी अघि बढ्न पनि सरकारलाई सुझाव दिए।
बैठकमा बोल्दै सत्तारुढ नेकपा एमालेका सांसद गणेश तिमल्सिनाले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबै दललाई आह्वान गरे। उनले प्राकृतिक स्रोत र साधनको उचित परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।
उनले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा सबैको साथ र सहयोगको आवश्यकता पर्ने पनि बताए।
नेकपा माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले मुलुकलाई समृद्ध बनाउन सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। उनले आफूहरू एक्काइसौं शताब्दीको लोकतान्त्रिक पद्धति अनुसार अघि बढन बफदार रहेको पनि बताए।
उनले मुलुकलाई समृद्ध बनाउने गरी नयाँ संविधान जारी गरिएको पनि स्मरण गराए।
सांसद शर्माले राजनीतिक समस्या समाधान भइसकेकाले अब आर्थिक समृद्धिको दिशामा अघि बढने अनुकूल समय आएको पनि बताए।