प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै संविधानको आधारभूत संरचना नै भत्काउने गरी संविधान संशोधन नगर्न सरकारलाई सचेत गराएका हुन्।
उनले संविधान संशोधन गर्नुपर्छ भन्नेमा आफूहरू सहमत र सकारात्मक रहेपनि आधारभूत संरचना नै भत्काउने प्रयास भए स्वीकार्य नहुने बताए।
नेता देउवाले अदालतलाई तर्साउने धम्क्याउने र प्रेसलाई तर्साउने धम्क्याउने विषय लोकतन्त्रवादी नहुने भन्दै वामगठबन्धनको सरकारलाई स्वतन्त्र न्यायालय र प्रेस स्वतन्त्रताप्रति पनि सचेत रहन आग्रह गरे।
उनले सत्तापक्षले प्रतिपक्षीलाई गर्ने व्यवहार हेरेर आफूहरू अघि बढ्ने पनि बताए। पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव कुमार नेपालले आफूलाई नआत्तिन भनेको विषयलाई उनले ‘प्रधानमन्त्रीलाई खुसी पार्नुपर्ने होला,त्यसमा आफूले केही भन्ने कुरा नरहेको’ प्रतिक्रिया दिए।
प्रधानमन्त्री केपी ओलीले आफूलाई चुनाव नै गराउनुहुन्न भन्ने गरेको स्मरण गर्दै उनले निर्वाचन सम्पन्न भएपछि मुलुकको प्रधानमन्त्री भएकोमा ओलीलाई बधाई तथा शुभकामना दिए।
उनले असहज र अप्ठ्यारो अवस्थामा पनि प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउन सकेकोमा आफूलाई सन्तोष लागेको बताए। नेता देउवाले संविधान जारी गर्दाको समयमा संविधान राष्ट्रहित विपरित छ भन्नेहरूले पनि अहिले समर्थन गरेको देख्दा आफूलाई खुसी लागेको बताए।
२००७ सालको परिर्वतनदेखि नेपाली कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वय प्रक्रिया अघि बढेको भन्दै उनले मुलुकको सम्वृद्धि र आर्थिक विकासका लागि आफूहरूको सधै समर्थन रहने विश्वास दिलाए।
https://www.facebook.com/setopati/videos/1798580003545898/