एकपछि अर्को विवादमा फस्दै गएका प्रधानन्यायाधीश गोपाल पराजुलीका विषयमा सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) विभाजित भएको छ।
सार्वजनिक रूपमै अाफ्नो विरोध हुन थालेपछि पराजुलीले सर्वोच्च अदालतको फुलकोर्ट बोलएर समर्थन खोजेका थिए। तर 'व्यक्तिगत विवाद’मा सर्वोच्चलाई मुछ्न नहुने भन्दै केही न्यायाधीशले उनको प्रस्ताव अस्वीकार गरे।
न्यायधीशहरूबीचको विभाजनपछि फुलकोर्ट कुनै पनि निर्णय नगरी टुंगिएको थियो।
सेतोपाटीले कुरा गरेका सर्वोच्चका तीन न्यायाधीशले सो कुराको पुष्टि गरे।
सो घटनापछि फुलकोर्टको बैठक बस्न सकेको थिएन। सोमबार बिहान साढे १० बजे पूर्वन्यायाधीश रामनगिना सिंहको निधनमा शोक व्यक्त गर्नमात्र अकस्मात फुलकोर्ट बस्यो।
माघ १८ प्रधानन्यायधीश पराजुलीले फुलकोर्ट बोलाएर आफ्नो पक्षमा समर्थन खोजेका थिए। माघ १७ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशले आफूलाई मार्नेसम्मको धम्की दिएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुरक्षाका लागि निवेदन दिएका थिए। डाक्टर केसीको अवहेलना मुद्दामा भण्डारीले केसीका पक्षबाट बहस गरेका थिए।
त्यसको भोलिपल्ट प्रधानन्यायाधीश पराजुलीले फुलकोर्टको बैठक डाके। बैठकको औपचारिक एजेन्डा कसैलाई भनिएको थिएन।
प्रधानन्यायाधीश पराजुलीले उक्त बैठकमा आफूले कसैलाई मार्ने धम्की नदिएको भन्दै कुराको सुरूवात गरेकाे न्यायाधीशहरूले बताए।
‘मजस्तो मान्छेलाई हत्यारा भनियो, भ्रष्ट भनियो, यसरी न्यायपालिकामाथि आक्रमण गरियो। मैले त्यस्तो भन्नै सक्दिनँ। मैले उनलाई भेटेको पनि छैन। कुरा पनि गरेको छैन। तपाईँहरूले फुलकोर्टबाट निर्णय दिनुपर्यो,’ प्रधानन्यायधीशले बैठकमा भने,' यसमा माननीयहरूको धारणा के छ?'
प्रधानन्यायाधीश पराजुलीको प्रस्ताव सुनेपछि छेवैमा बसेका न्यायाधीश ओमप्रकाश मिश्रले आफ्नो धारणा राख्न आनाकानी गरे। उनी पहिले अरु माननीयहरूको धारणा सनौ भन्दै पन्छिए।
न्यायाधीश डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठले न्यायपालिकामाथि आक्रमण भएको भन्दै प्रधानन्यायाधीशलाई सहयोग गर्ने बताए।
'हामीले के गर्नुपर्छ भन्नुस् न, हामी तयारै छौं,' उनीहरूले उक्त बैठकमा भनेको कुरा उदृत गर्दै एक न्यायाधीशले भने।
न्यायाधीश विश्वम्भर श्रेष्ठले भने पराजुलीको विवाद आफूलाई थाहा नभएको र कुनै धारणा पनि नभएको बताए।
'मलाई त केही थाहा छैन। यसबारे सोचेको पनि छैन। सोच पनि छैन,' बैठकमा उनले भने।
चार/पाँच जनाले आफ्ना कुरा राखेपछि न्यायाधीश प्रकाश राउतको बोल्ने पालो आयो। उनले सुरूमै प्रधानन्यायाधीशको रवैयामाथि प्रश्न गरे।
‘श्रीमान् पहिले त छुट्याउनुपर्यो कि यो विवाद व्यक्तिगत निर्णयका कारणले भैरहेको हो वा संस्थागत निर्णयले हो? तपाईँले निर्णय गर्ने बेला हामीलाई सोध्नुभएको थिएन। त्यसैले मलाई त के लाग्छ भने यो विवाद व्यक्तिगत निर्णयका कारण हो,' बैठकमा राउतले भने, ‘गोविन्दजी (डा केसी) र सुरेन्द्रजीको भनाइ सुनेर म पनि दु:खी छु। ती भनाइ आपत्तिजनक छन् तर त्यो भन्न पर्नेसम्मको ठाउँ हामीले दिएर भनेका हुन् कि नदिएरै भनेका हुन्? यो पनि छुट्याउनुपर्छ। हामीले नै ठाउँ दियौँ कि भन्ने मलाई लाग्छ।'
अाधा घन्टा बोलेका राउतले थपे- अहिले जुन सन्देश बाहिर गएको छ, त्यो गइनैसक्यो भने अहिले आकस्मिक बैठक किन? यो त जरूरी थिएन। संस्थाको साह्रैनै मर्यादा र गरिमा सिद्धिने काम कुरा हुन लागेको हो भने त जनतामा गलत सन्देश नपुग्दै रोकथाम गर्नुपर्थ्यो। यहाँनिर नेतृत्व चुकेको जस्तो लाग्यो। नेतृत्वको नैतिक जिम्मेवारीमा हाम्रो कति जिम्मेवारी रहन्छ त्यो छुट्याइदिनुपर्यो। त्यसैले मलाई लाग्छ, यसमा संस्थाले केही भनिरहनु पर्ने देखिन्न। यस्तो बेला संस्थाले नै विज्ञप्ति जारी गर्दा असंयम देखिन्छ।'
पराजुलीपछिका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी बीचैमा उठे र भने— यस्ता कुरा सुन्न पर्दा दु:ख लागेको छ। अनि आफ्नो केही जरुरी काम भएको भन्दै बैठकबाटै उठेर गए।
न्यायाधीश आनन्दमोहन भट्टराईले प्रधानन्यायाधीशको पक्षमा फुलकोर्टले बोल्ने कुरा केही नभएको जिकिर गरे।
‘मेरो यो विषयमा बोल्नु केही छैन। तर तपाईंको पक्षमा फुलकोर्टबाट केही निर्णय हुन्न,’ भट्टराईलाई उदृत गर्दै स्रोतले भन्यो।
स्रोतका अनुसार, वरिष्ठ अधिवक्ता भण्डारी र डाक्टर केसीका अभिव्यक्तिले न्यायपालिकामा आक्रमण गरेको भनेर फुर्लकोटले भनिदियोस् भन्ने प्रधानन्यायाधीश पराजुलीको चाहना थियो।
न्यायाधीश ईश्वर खतिवडाले बैठकमा भने, 'व्यक्तिगत गल्ती ढाक्न संस्थालाई किन मुछ्नु? प्रधानन्यायाधीशले व्यक्तिगत रूपमा आफ्ना निजी सचिव प्रयोग गरेर विज्ञप्ति निकाल्ने हो भने हाम्रो केही भन्नु छैन तर संस्थालाई मुछ्नु जरुरी छैन।'
न्यायाधीश सपना मल्ल प्रधानले पनि राउत, खतिवडा र भट्टराईकै भनाइलाई समर्थन गरिन्।
'तपाईं आफूले एक्लै विज्ञप्ति निकाल्नुहुन्छ भने निकाल्नुस्। तर फुलकोर्टले तपाईंलाई केही सहयोग मिल्दैन,' प्रधानको भनाइ उदृत गर्दै स्रोतले भन्यो।
न्यायाधीश तेजबहादुर केसीले भने संस्थालाई जोगाउन लाग्नु पर्ने बताए।
धेरै न्यायाधीशको विरोध र केही न्यायाधीशको तटस्थतापछि पराजुलीले चाहेजस्तो निर्णय आउने सम्भावना सकियो।
उक्त बैठकपछि एक महिनासम्म सर्वोच्चको फुलकोर्ट बसेन। न्यायपालिका भित्रका विभिन्न विषयमा फुलकोर्टमा छलफल हुने गर्छ। प्रत्येक हप्ता बुधबार फुलकोर्ट बस्ने चलन छ।
फुलकोर्टको बैठकमा सबै न्यायाधीश उपस्थित हुन्छन्। त्यसबाहेक सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार, रजिष्ट्रार लगायत केही कर्मचारी हुन्छन्।