कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको १५ दिन भएको छ। मुख्यमन्त्रीसहित प्रदेशका ७ वटै मन्त्रालयका मन्त्रीले जिम्मेवारी सम्हालेका छन्।
मन्त्री भए पनि कर्मचारी नहुँदा भौतिक पूर्वाधारलगायतका केही मन्त्रालयमा काम भने अगाडि बढ्न सकेको छैन।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सचिवसहित प्राविधिक कर्मचारी अझसम्म पनि आइपुगेका छैनन्।
कर्मचारी नहुँदा मन्त्रालयले काम गर्न नसकिएको भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीले बताए।
प्राविधिकतर्फको काम बढी हुने भएकाले सम्बन्धित कर्मचारी नआउँदा समस्या भएको मन्त्री खत्रीको गुनासो छ।
भौतिक तथा पूर्वाधार विकास मन्त्रालयमा १ सचिव, ४ उपसचिव, लेखा तथा प्रशासनतर्फका ४ अधिकृत, प्राविधिकतर्फ ९ अधिकृत, ५ नायब सुब्बा र १ जना खरिदारसहित २४ जनाको दरबन्दी छ। यीमध्ये ५ जनामात्र हाजिर भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
कर्मचारी नहुँदा योजना तर्जुमा लगायत काम अघि बढ्न सकेको छैन।
मन्त्री खत्रीले कर्मचारीलाई हाजिर हुन आफूले बारम्बार निर्देशन दिए पनि विभिन्न कारण देखाई अल्झिने गरेको बताए।
मन्त्रालयमात्र होइन मुख्यमन्त्रीको कार्यालयमा पनि सबै कर्मचारी आइपुगेका छैनन्।
प्रमुख सचिव सुरेश प्रधानका अनुसार एकजना सचिव र एकजना उपसचिव अझ हाजिर भएका छैनन्।
१ जना कम्प्यूटर इन्जिनियर र पाँचजना नायव सुब्बा पनि कार्यालयमा आएका छैनन्।
प्रदेशका साट वटा मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानूनमा १३, आर्थिक मामिला तथा योजनामा ११, सामाजिक विकासमा २५, उद्योग, पर्यटन, वन तथा वातावरणमा २१ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २२ जना कर्मचारी अझ अनुपस्थित छन्।
मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा सचिवालयमा २१५ जनाको दरबन्दी छ।