राष्ट्रिय सभामा मनोनित भएका तीन जनाबारे परेको मुद्दामा आजको सुनुवाइ स्थगित भएको छ।
यो मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश राउतको इजलासमा परेको थियो।
इजलासमा बहस पनि सुरु भइसकेको थियो। निवेदकका पक्षबाट बहस गर्दै अधिवक्ता बाबुराजा जोशीले यो मुद्दा दुबै न्यायाधीशले हेर्न नमिल्ने बताए।
उनले न्यायाधीश राउतले यही मुद्दामा फागुन १३ गते नै कारणसहितको अन्तरकालीन अन्तरिम आदेश दिएकाले उनले फेरि यही मुद्दाको सुनावाइ गर्न नमिल्ने तर्क गरे।
त्यस्तै २०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भएका न्यायाधीश कार्कीले अहिले ओली सरकारले नै सिफारिश गरेको विषयमा परेको मुद्दा हेर्न नमिल्ने जोशीको तर्क थियो।
जोशीको कुरा सुनेपछि न्यायाधीशहरू बहस रोकेर छलफलका लागि च्याम्बरमा गए।
केहीबेरमा इजलास फर्किएपछि न्यायाधीश कार्कीले अर्का न्यायाधीश राउतले यो मुद्दा आफूले हेर्न नहुने बताएको भन्दै इजलासले मुद्दा नहेर्ने निर्णय गरेको जानकारी दिए।
शेरबहादुर देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको थियो।
उनीहरुको नाम राष्ट्रपति कार्यालयबाट स्वीकृत नहुँदै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलाका नाम फिर्ता लिएर डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिश गरेको थियो। राष्ट्रपति कार्यालयले ओली सरकारले सिफारिश गरेअनुसार तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरिसकेको छ।
देउवा नेतृत्वको सरकारले सिफारिश गरेका तीन जनाले आफूहरुको नाम स्वीकृत नभएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए।
यसअघि फागुन १३ गते यो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश राउतको एकल इजलासले मनोनित ३ जनालाई तत्काल सपथ नखुवाउन अन्तरिम आदेश दिएको थियो।