कान्तिपुरको अवहेलना मुद्दा न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा तोकिएको छ।
दिउँसो खाजा समयपछि बहस सुरू हुने भएको छ।
आफूलाई लागेको अदालतको अवहेलना मुद्दामाथि बयान दिन शुक्रबार कान्तिपुर दैनिकका सञ्चालक सर्वोच्च अदालत गएका थिए। समय अभावका कारण मुद्दा आजको लागि सारिएको थियो।
सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै उनकै इजलासले एकहप्ता अघि कान्तिपुरलाई बयानका लागि बोलाएको थियो।
अधिवक्ता तोयानाथ ढुंगानाले प्रधानन्यायाधीश विरुद्ध समाचार लेखेर कान्तिपुरले अदालतकै अवहेलना गरेको भन्दै बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
माघ २७ गते कान्तिपुरले प्रधानन्यायाधीशका चार जन्ममिति शीर्षकमा समाचार छापेको थियो। त्यसको केही दिनमै पराजुलीका नागरिकतामै ३ वटा जन्म मिति भएको भन्दै समाचार छापेको थियो। प्रधानन्यायाधीश पराजुलीका विवादित जन्ममिति, प्रमाणपत्र र नागरिकताबारे कान्तिपुरले समाचार लेख्दै आएको छ।
यी सबै समाचार झूटो भएको र यिनले अदालतको अवहेलना गरेको भन्दै ढुंगानाले कान्तिपुर पब्लिकेशन, कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने संवाददाता कृष्ण ज्ञावली विरुद्ध मुद्दा हालेका हुन्।