मुख्यमन्त्री शंकर पोखरेलले पाँच वर्षभित्रमा वर्षेनी ५० लाख पर्यटक लुम्बिनी भित्र्याउने दाबी गरेका छन्।
प्रदेश सरकारले पाँच नम्बर प्रदेशका पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनबाट सिंगो प्रदेशको विकास गर्ने योजनाका साथ काम अघि बढाउने उल्लेख गर्दै उनले पाँच वर्षपछि आफूले सत्ता हस्तान्तरण गर्दा पाँच लाख पर्यटकबाट ५० लाख पुर्याउने दाबी गरे।
लुम्बिनी सांस्कृतिक नगरपालिकालाई शनिबार खुला दिशामुक्त घोषणा गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा पर्यटकहरूको संख्या बढाउन सबैभन्दा पहिला लुम्बिनीलाई सफा राख्नुपर्ने बताए। मुख्यमन्त्री पोखरेलले लुम्बिनी नाम अनुसारको काम गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिलाई आग्रह गरे।
‘नेपालमा दुईवटा नगरपालिकालाई मात्र सांस्कृतिक नगरपालिका नामाकरणलाई यथार्थमा परिणत गर्ने दायित्व पनि नगरवासीको हातमा रहेको छ ।’
मुख्यमन्त्री पोखरेलले अन्तर्राष्टिय पर्यटकीयस्थल लुम्बिनीलाई खुला दिशामुक्त गर्न धेरै ढिलो भएको भन्दै सांस्कृतिक र ऐतिहासिक रूपमा अगाडि रहेजस्तै सामाजिक रूपमा पनि अगाडि बढाउन आग्रह गरे।
‘वर्षेनी विश्वभरका हजारौं पर्यटक आउने लुम्बिनीलाई अहिले आएर खुला दिशामुक्त गर्नु लाजमर्दो विषय हो,’उनले भने, ‘पर्यटकहरू भित्र्याउन सकिएन भनेर चिन्तन गर्ने हामीहरू कति पछाडि रहेछौं भन्ने कुराको प्रमाण पनि यो हो।’
मुख्यमन्त्री पोखरेलले सिंगो लुम्बिनीलाई सरसफाइयुक्त नबनाउँदासम्म लुम्बिनीभित्र आउने पर्यटकलाई बाहिरको लुम्बिनीको अवलोकन गराउन नसकिने भन्दै खुला दिशामुक्त कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ लाग्न सबैलाई आग्रह गरे।
उनले लुम्बिनीमा आउने पर्यटकहरूको स्तर अनुसारका होटलहरूको अभावमा यहाँ आउने पर्यटकहरूको बसाइ लम्बाउने नसकिएको भन्दै यहाँ आउने पर्यटकहरूको स्तर अनुसारका होटलहरू संचालन गर्नुपर्ने बताए। विदेशी पर्यटकहरू होटलभन्दा जनताको घरमा गएर बस्न मन पराउने भन्दै उनले लुम्बिनीको सांस्कृतिक संरचना अनुसारका होमस्टे सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
‘सरसफाइयुक्त होटल, खाने परिकारमा विविधता, स्वागत, सत्कार र सम्मानको संस्कार बसाउन सके पर्यटकहरूको कमी हुँदैन’ उनले भने।
उनले गौतमबुद्धको अस्तुधातु रहेको एकमात्र स्थान नवलपरासीको रामग्राम, गौतमबुद्धको मावली देवदह र कपिलवस्तुको तिलौराकोटलाई जोड्ने गरी मोनोरेल सञ्चालन गर्न सके बिहान लुम्बिनी आएर साँझ फर्किने पर्यटकहरूलाई रोक्न सकिने बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य अष्टभूजा पाठक र फकरुद्धिन खानले लुम्बिनीलाई पर्खालभित्र मात्र सिमित गरिँदा बाहिरको लुम्बिनीको विकास हुन नसकेको भन्दै प्रदेश सरकारले यसतर्फ ध्यान दिन आग्रह गरे।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीको अध्यक्षता तथा लेखा अधिकृत आलोक अग्रहरीको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्टिय सभा सदस्य दुर्गा प्रसाद उपाध्याय, नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेल, सिद्धार्थ प्राविका प्रधानाध्यापक अल्ताफ हुसेन, लुम्बिनी हेल्प फाउण्डेशनका अजयसिंह, लुम्बिनी आदर्श महिला समूहका अध्यक्ष लक्ष्मी मिश्र लगायतले खुला दिशामुक्त घोषणालाई कार्यान्वयनमा लैजान सबैको सहकार्य आवश्यक रहेको बताए।