प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताए ।
जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको नुवाकोटका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे ।
स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न कर्मचारीकै कारण मुख्य समस्या भएको छ', मुख्यमन्त्री पौडेलले भने, 'कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्था गरेको बुझ्न सकिएको छैन् ।'
केन्द्रका कर्मचारीले अधिकार दिन नचाहेको र राजनीतिक नेतृत्वले पनि अधिकार बढी भयो भनिरहेको आवाज एकैसाथ आएकाले आफूहरुलाई असफल बनाउन भएका प्रयास विफल बनाउन प्रदेश र स्थानीयतहबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ थियो ।
उनले काम गर्ने समयमा योजना र आवश्यकताको आधारमा बजेट तर्जुमा गर्न यहाँको जनप्रतिनिधिलाई आग्रह गरे ।