राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले केन्द्रीय सरकारमा जाने जनमत आफूहरूसँग नभएकोले अहिले त्यतातिर बल नगरेको स्पष्ट पारेका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा स्पष्ट पारेका छन्।
कार्यक्रममा बोल्दै उनले भने,‘फोरम र राजपासँगै मिलेर चुनाव लडेकोले जनताले त्यही अनुसारको म्याण्डेट दिए, हामीलाई मिलेर प्रदेश सरकार चलाउने जनमत दिएका छन्, त्यसैले राजपाले केन्द्रीय राज्यसत्तामा बल गरेको छैन।’
सुमनले आफूहरूसँग अहिले सरकारले आफूहरूसँग गम्भीर वार्ता नगरेको गुनासो पोखे। उनले भने,‘हामीसँग खासै त्यस्तो गम्भीर वार्ता भएको छैन।’
उनले आफूहरूले खोजेको भनेको नै संविधान संशोधन गर्नु भएकोले केन्द्रीय सरकारमा जानेबारे कुनै हतारो नगरेको स्पष्ट पारे। यद्यपी उनले फोरम नेपालले सरकारमा जानको लागि हतारो गरेको आरोप लगाए।
संविधान नै विभेदपूर्ण रहेकोले पहिले यसलाई संशोधन गर्नुपर्नेमा अडानमा आफूहरू रहेको उनको भनाइ थियो।
उनले भने,‘राजपा र फोरम दुवै मधेशका स्टक होल्डर हुन्, त्यसैले उपेन्द्र यादवले २ बुँदे वा २० बुँदे जे गरेपनि, या यो सरकारको दोस्रो प्रधानमन्त्री बनेपनि र देशको पुरै सुरक्षा फोर्स लिएर गएपनि मधेशमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुन सक्दैन्।’
उनले अहिले मधेशको भू–भागमा प्रधानमन्त्री ओली गए त्यहाँ जनतो दुर्व्यवहार हुन सक्ने बताए। उपेन्द्र यादवलाई मधेशको विद्धानको संज्ञा दिँदै उनले ठिक-ठिक ढंगले संविधान संशोधन गर्न पहल गर्न सुझाव दिए।
उनले भने,‘संविधानलाई मधेशमैत्री बनाउनुपर्छ, अब ओली सुध्रिएलान् भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन।’