संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले संविधान संशोधनबारे सहमति भए आफूहरू एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘संविधान संशोधन गर्नेबारे सरकार र हामीबीच सहमति भयो भने अब हामी एक हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं, अहिले सकारात्मक छलफल चलिरहेको छ, फागु पूर्णिमाले गर्दा वार्ता लम्बिएको हो।’
महासचिव यादवले संविधान संशोधनमा लिखित प्रतिबद्धता आए आफूहरू सरकारमा जाने नआए नजाने जिकिर गरे। उनले थपे,‘सरकारको नीति तथा कार्यक्रममा यो कुरा आउनुपर्यो, संशोधनबारे लिखित प्रतिबद्धता आउनुपर्यो, हामी तयार छौं भनेर सरकारले भन्नुपर्यो, त्यसपछि कार्यदल बनाएर संविधानको कुन कुन धारा संशोधन गर्ने? भन्ने कुरा टुंगो लाग्छ।’
पहिला संशोधनबारे कुरा टुंगो लागेपछि अनि सरकारमा सहभागी हुनेबारे कुरा आउने उनको तर्क थियो। उनले थपे,‘प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाम्रो अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ, सकारात्मक छलफल भएको छ।’
यसबारेमा चाँडै टुंगिने सम्भावना रहेको उनले जनाए।
उनले सिमांकन हेरफेरको लागि अवरोधको रूपमा रहेको संविधानको धारा २७४ लाई संशोधन गर्नुपर्ने पनि बताए। त्यस्तै, उनले प्रदेश नम्बर २ को नाम मधेश राखिन सकिने जानकारी दिए।