नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा लोभ नगर्न आग्रह गरेका छन्।
नेता पौडेलले पार्टीको बृहत्तर हितका लागि पनि सभापति देउवाले संसदीय दलको नेतामा दाबी गर्न नमिल्ने तर्क गरे।
उनले सभापति देउवालाई सर्वसम्मतिमा संसदीय दलको नेता चयन गर्ने वातावरण बनाउन पनि सुझाव दिए। शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संसदीय दलको नेतालाई सर्वसम्मतिमा चयन गरेर पार्टी एकतालाई बलियो बनाउने दायित्व पनि पार्टीको मूल नेतृत्वकै भएको स्मरण गराए।
आगामी सोमबार कांग्रेस संसदीय नेताको नेता चयन हुँदैछ। त्यसका लागि सभापति देउवाले आफैँ उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। नेता पौडेलले सभापति देउवाले संसदीय दलको नेतामा आफैँ उम्मेदवारी दिने घोषणा पार्टी हितमा नहुने दाबी गरे।
उनले पार्टी संसदीय दलको नेता सर्वसम्मत बनाउने दायित्व पार्टीको मुल नेतृत्वकै भएको पनि बताए।
नेता पौडेलले निर्वाचनको समिक्षा समेत गर्न तयार नभएको भन्दै सभापति देउवाप्रति आक्रोश पनि व्यक्त गरे। उनले आफूहरू महाधिवेशनको माध्यमबाट पार्टी नेतृत्व परिवर्तन गर्न लागि परेको समेत स्पष्ट पारे।