नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
अछाम जाने क्रममा शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले शनिबारसम्म मन्त्रालय बाँडफाँटलगायतका विषय टुंगो लगाएर आइतबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताएका छन्।
संघीय समाजवादी फोरम सरकारमा आउने भएकाले केही दिन ढिलाई भएको उनले बताए।
सुशासन, स्थायित्व, विकास र समृद्धिका लागि दुई तिहाई बहुमत पुर्याउन फोरमलाई सरकारमा ल्याउन लागिएको प्रचण्डको भनाइ थियो।
वाम एकताका विषयमा बोल्दै उनले चैतको अन्तिमसम्म दुबै पार्टीका संगठन भंग गरेर नयाँ पार्टी गठन हुने पनि बताएका छन्।
प्रचण्डले भने– ‘अन्तरिम राजनीतिक प्रतिवेदन लेखन समिति र विधान तथा संगठन निर्माण समितिको प्रतिवेदनका आधारमा छलफल गरेर चैतको अन्तिमसम्ममा एमाले र माओवादीभित्र रहेका हालका संगठन भंग गर्ने तयारीमा हामी छौं।’
यस्तै, नयाँ राष्ट्रपति र उपराष्ट्रपतिमा विद्यादेवी भण्डारी र नन्दकिशोर पुन नै दोहोरिने अध्यक्ष प्रचण्डले बताएका छन्। एमालेले राष्ट्रपतिको टुङ्गो लगाएपछि मात्रै माओवादी केन्द्रले उपराष्ट्रपतिको टुङ्गो लगाउने उनले बताए।
तस्विरः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै। दिपकजंग शाही/सेतोपाटी