प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार गरे सार्वजनिक रूपमा चुनौती दिन पनि सबैसँग आग्रह गरेका छन्। उनले भ्रष्टाचार अन्त्यका लागि माथिल्लो निकाय मातहतको नजरमा गिर्न नहुने सुत्र पनि प्रस्तुत गरे।
शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लाण्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मातहतको निकायमा नगिर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मातहतको निकाय नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सुत्र भएको तर्क समेत गरे।
प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी मुलुकको आवश्यकता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने विधि र प्रक्रियाको विषयमा गम्भीर छलफल गरिरहेको पनि बताए। प्रधानमन्त्री ओलीको मुलुकको समग्र क्षेत्रको विकासलाई अघि बढाउन पनि दक्ष जनशक्ति उत्पादनको काममा ढिलाई गर्न नहुनेमा सरकार सचेत रहेको पनि स्मरण गराए।
काठमाडौंको महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको २३ आना जग्गा भित्र मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न लागिएको हो। भवन तथा सहरी विकास विभागको अगुवाइका निर्माण गर्न लागिएको सो भवन १९ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। भवन निर्माणका लागि सरकारले ३० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।