संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषय टुंगो लगाउन बालुवाटारमा बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ।
मन्त्रालयको भागबण्डा नमिलेपछि एमाले, माओवादी र फोरमबीचको वार्ता बिना निश्कर्ष टुंगिएको हो।
फोरमले आफूलाई ३ वटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ भने एमाले माओवादीले भने २ वटा मन्त्रालय दिन सकिने बताउँदै आएको छ।
फोरम सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरू सहमतिको नजिक पुगेको बताउँदै बैठक पुन: होलीपछि बस्ने जानकारी दिए।
संविधान संशोधनका विषयमा भने तीनै दल सकारात्मक भएको बताइएको छ।
एमाले-माओवादी गठबन्धनमा फोरम मिसिँदा संसदमा स्पष्ट दुई तिहाइ बहुमत पुग्छ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति रहेको थियो ।