नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले केपी ओली नेतृत्वको सरकार फासीवादतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन्।
अध्यक्ष वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेता, कार्यकर्तालाई ओली नेतृत्वको सरकारले धरपक्कड गर्ने, पक्राउ गर्ने लगायतका काम गरेर मुलुकलाई फासीवादतर्फ लैजाने खोजेको आरोप लगाएका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले र माओवादी केन्द्रले वामगठबन्धनको नाममा दक्षिणपन्थी बाटो अंगालेको दाबी गर्दै पतन भएर जाने चेतावनी समेत दिए।
अध्यक्ष वैद्यले सच्चा कम्युनिस्ट क्रान्तिकारीबीच एकता हुनैपर्ने बेला आएको पनि बताए।
अध्यक्ष वैद्यले देश र जनताको मुक्तिको नाममा क्रान्तिकारीहरूमाथि धरपक्कड गर्नेहरूलाई कम्युनिस्ट भन्नै नमिल्ने तर्क पनि गरे।