डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन्। उनका एसएलसी प्रमाणपत्र फर्जी भएको भन्दै डाक्टर केसीले राजिनामा माग गरेका हुन्।
डाक्टर केसीले बुधवार विज्ञप्ति जारी गर्दै कि त प्रधानन्यायाधीशको राजीनामा आउनुपर्ने नभए उनलाई महाअभियोगद्वारा हटाउनुपर्ने नभए आफुले कडा कदम चाल्ने बताएका हुन्।
'प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दरूपयोग गरी गरेको भ्रष्टाचार, माफियागिरी, प्रतिशोध, प्रेस स्वतन्त्रताको अपहरण लगायतका अनुचित र अपराधिक कार्यहरुमा निजलाई जवाफदेही बनाई पदमुक्त गराई छाड्ने हाम्रो संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ,' केसीको विज्ञप्तिमा उल्लेख छ, 'निजले राजीनामा गरी पद त्याग नगरेमा वा निज विरुद्ध महाअभियोग नलगाइएमा सत्याग्रह सहितका कडा कदम चालिने जानकारी गराउँदछौँ'
आफूले प्रधानन्यायाधीशका एसएलसीको प्रमाणपत्र नबुझाइ कसरी त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरे र कसरी न्यायाधीशमा नियुक्त भए भन्ने विषयमा सूचना माग गरेपनि सर्वोच्च अदालतले उपलब्ध नगराएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
ती सुचना माग्दा नदिनुले पराजुलीका एसएलसी प्रमाणपत्र फर्जी हुन् भन्ने कुरा पुष्टी गरेको भन्दै आफुले अब कडा कदम चाल्ने डाक्टर केसीको विज्ञप्तिमा उल्लेख छ।
'प्रधानन्यायाधीश पराजुलीले हाम्रो माग बमोजिमको सुचना लुकाउनुले हामीले माग गरेको उहाँको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंका पुष्टि हुने आधार थपिएको छ। यस सम्बन्धमा हामीले उपयुक्त समयमा थप कदम चाल्ने नै छौँ,' विज्ञप्तिमा भनिएको छ।
चारवर्ष अघि वर्खास्त गरेका डाक्टर शशि शर्मालाई प्रधानन्यायाधीशको इजलासले चार दिनका लागि पुनरवहाली गरेपछी डाक्टरकेसीले गरेको आलोचनालाई लिएर सर्वोच्च अदालतले अवहेलना मुद्दा चलाएको थियो।
मुद्दाको सुनुवाईका क्रममा डाक्टर केसीले पराजुलीका शैक्षिकप्रमाणपत्र, उमेर विवाद र नागरिकतामा प्रश्न उठाएका थिए। सर्वोच्च अदालतले पनि पराजुलीका शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्र छानविनका लागि मागाएको छ।
यहि क्रममा पराजुलीका चार/पाँचवटा जन्ममिति विभिन्न सरकारी कागजमै भेटिएको, शैक्षिक प्रमाणपत्रमा किर्ते गरेको लगायतका समाचार सार्वजनिक भएका छन्। यसपछि डाक्टर केसीले प्रधानन्यायाधीश सचिवालयमै गएर यी सबै विषयमा आधिकारीक सूचना मागेका थिए।