संघीय संसद सचिवालयले संसदको पहिलो अधिवेशन र सांसदहरूको सपथका विषयमा दलहरूसँग छलफल गरेको छ।
बुधबार संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५ दलसँग संघीय संसदको पहिलो अधिवेशन र सांसदहरूको सपथका विषयमा छलफल गरेको हो। आगामी सोमबार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेका छन्।
सोही विषयमा दलहरूसँग छलफल गरिएको संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए। सचिवालयले आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सांसदहरूको सपथ गराउने कार्यतालिका तय गरेको छ। सोही कार्यतालिकाका विषयमा पनि दलहरूलाई औपचारिक जानकारी गराइएको प्रवक्ता गौतमले बताए।
संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरूलाई भोलि बिहिबारसम्म निवेदन दिन पनि आह्वान गरेको छ। सपथ लिनु ३ दिन अघि नै मातृभाषामा सपथ लिन चाहाने सांसदहरूलाई निवेदन दिन पनि आग्रह गरिएको प्रवक्ता गौतमले स्पष्ट पारे। संसद सचिवालयमा हालसम्म ७ जनाले मातृभाषामा सपथ लिन निवेदन दिएका छन्।
संसद सचिवालयले संसदको अन्तरिम कार्यविधि तय गर्न आइतबार सर्वदलीय बैठक बोलाउने निर्णय पनि गरेको छ। प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन गराउने र सरकारले विश्वासको मत लिनेलगायतका कार्यतालिका तय गर्न पनि आइतबार सर्वदलीय बैठक बोलाउने निर्णय लिइएको प्रवक्ता गौतमले जानकारी दिए।
संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो अधिवेशन सम्पन्न भएको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । त्यसैगरी, सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत पनि लिई सक्नुपर्ने संवैधानिक व्यवस्था छ। आइतबार बोलाइएको सर्वदलीय बैठकमा सोही निर्वाचनको मिति समेत तय गरिने संघीय संसद सचिवालयले जनाएको छ।
दुई सदन रहेको संघीय संसदमा ३ सय ३४ जना सांसद रहेका छन्। पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठक बस्नेछ ।