नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू संसदीय दलको नेतामा उठ्ने बताएका छन्। कांग्रेसका महामन्त्री शशांक कोइरालाले आयोजना गरेको 'लन्च मिटिङ'मा देउवाले आफू नै संसदीय दलको नेता हुने दाबी पनि गरे।
कोइरालाले बुधवार दिउँसो प्रतिनिधि र राष्ट्रियसभामा निर्वाचित कांग्रेसका सांसदलाई लञ्च मिटिङमा बोलाएका थिए। उक्त मिटिङपछि पत्रकारसँग कुरा गर्दै देउवाले आफू नै संसदीय दलको नेता हुने बताएका हुन्।
'म कांग्रेस संसदीय दलको नेताको उम्मेदवार हुँ, नेता पनि मै हुँ,' देउवाले भने।
कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार देउवापछि प्रकाशमान सिंह र कोइरालाले पनि संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहेको बताए।
'शेरबहादुर दाइ र प्रकाश दाइले दलको नेताका लागि आफूले उम्मेदवारी दिने घोषणा गर्नुभयो। शशांक दाइले पनि सकेसम्म सर्वसम्मत बनाउन आफूले कोसिस गर्ने बताउनु भयो,' उनले भने।
सर्वसम्मत भए आफैं दलको नेता हुन चाहेको कोइरालाले बताउँदै आएका छन्।
फागुन २१ गते हुने पार्टी संसदीय दलको नेताको चुनावको केही दिनअघि निर्वाचित सांसदसहित अन्य नेताहरूलाई महामन्त्री कोइरालाले टोखास्थित आफ्नै निवासमा 'लञ्च मिटिङ'को लागि बोलाएका थिए।
सभापति देउवा र रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंह दलको नेता बन्ने दौडमा छन्।
देउवाले छोड्ने हो भने कोइराला सर्वसम्मत हुने सम्भावना भएको गुरुङले बताए।
देउवा दलको नेता बन्न नहुने आवाज पार्टीभित्र उठिरहेको छ।
संसदीय दलमा देउवा पक्षका सांसदहरूको बहुमत भएकाले उनले दाबी छोड्ने सम्भावना भने कम छ।