प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्मको सबैभन्दा ठूलो प्रदेश सरकार बनाएका छन्।
बुधबार उनले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका ४ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ खुवाएका छन्। योसँगै उनको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ।
फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री र शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्। त्यस्तै, राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।
प्रदेश नम्बर २ मा तीन जना राज्यमन्त्री पनि नियुक्त भएका छन्। सात प्रदेशमध्ये पहिलोपटक प्रदेश २ मा राज्यमन्त्री नियुक्त भएका हुन्।
फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका हुन्।
राजपाले पनि राज्यमन्त्री बनाउने भएपनि आज नाम टुंगो नलागेको नेता केशव झाले जानकारी दिए।
यसअघि राउतको मन्त्रिमण्डल तीन सदस्यीय थियो। फोरमका विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए भने राजपाका जितेन्द्र सोनलले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए।
कर्णाली र सात नम्बर प्रदेशमा मन्त्रिमण्डल पूर्ण भइसकेको छ। ती दुबै प्रदेशमा राज्यमन्त्री नियुक्त भएका छैनन्। प्रदेश १, ३, ४ र ५ मा मन्त्रिमण्डलले पूर्णता पाएको छैन।
संविधानले प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतलाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ।