कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।
बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतको लागि प्रस्ताव पेश गरेका थिए। प्रस्तावको सर्मथन गर्दै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले फागुन ३ गते प्रदेश प्रमुखलाई दिएको हस्ताक्षरलाई कायमै राख्ने र सरकारको पक्षमा मत दिने बताए।
संसदमा मुख्यमन्त्री शाहीका पक्षमा नेकपा एमाले र माओवादी केन्द्रका ३२ जना सांसदले पक्षमा मतदान गरेका थिए। नेपाली कांग्रेसका ५ सांसद तथा राप्रपाका १ सांसदले उनको विपक्षमा मतदान गरेका थिए। बैठकमा कांग्रेसका एकजना सांसद अनुपस्थित थिए।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए। यसका लागि सरकारले गरेका कामहरुको आधारमा सर्मथन वा विरोध गर्ने उनको धारणा थियो।
बैठकमा राप्रपा सांसद सोशिला शाहीले आफूहरुको संविधानका केही धारामा मतभेद भए पनि समृद्धिका लागि सबैसँग सहकार्य गर्दै जाने बताइन्।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको छ।