नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुंगो लागि नसकेको जिकिर गरेका छन्।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै रावलले भने,‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटीमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुंगो लाग्न बाँकी छ।’
यसका साथै उनले फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैतको पहिलो हप्ताभित्रै बृहत एकता घोषणा गर्ने स्पष्ट पारेका छन्।
साक्षात्कारमा बोल्दै रावलले भने,‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउछौं, त्यसपछि एकता बृहत रूपमा घोषणा गर्छौं, सम्भवतः एकता चैतको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यही अनुसार तीव्र तयारीमा जुटेका छौं।’
उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए। उनले भने,‘दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरू दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरू गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाइरहेका छौं, फागुन २५ गतेसम्म टुंगो लगाउँछौं।’
विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने उनको भनाइ थियो।
रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाए। आउने आइतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनको भनाइ थियो।
उनले भने,‘हाम्रो चाहना भनेको अत्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ,, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होइन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं।’
उनले सरकारले पूर्णता पाउनेमा अब विलम्ब नहुने जिकिर गरे। उनले थपे,‘अब ढिलाइ हुँदैन, किनकी बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ।’
उनले अर्थमन्त्रीमा नियुक्त भएका युवराज खतिवडा अर्थतन्त्रसम्बन्धीका ज्ञाता भएकोले समृद्धि हासिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने विश्वास दिलाए।
उनले भने,‘एमालेमा अरु योग्य नेताहरू नै नभएर उहाँलाई नियुक्त गरेको भने होइन, अरु नेताहरूले पनि विगतमा अर्थमन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ।’