प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुर सरसफाइ महाअभियानमा सरिक भएका छन्।
मंगलबार बिहान ‘जनकपुर सरसफाइ महाअभियान’मा सरसफाइ अभियन्तासँगै उनी पनि सहभागी भएका थिए।
सरसफाइ अभियानमा सहभागी भएका उनले सरसफाइमा सहयोग गर्नका साथै जथाभावी फोहर गर्नेलाई कडा कारवाही गरिने बताए।
उनी मुख्यमन्त्री बनेपछि पहिलोपटक कुचो लिएर सडकमा उत्रिएका थिए। उनलाई हेर्नको लागि सर्वसाधारणको घुइँचो लागेको थियो। यसअघि गत शनिबार प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरसफाइ अभियानमा सरिक भएका थिए। उनी निलो ट्रयाकसुट, कालो छालाको जुत्ता र मास्क लगाएर मुख्यमन्त्री शाही सडक सफाइ कार्यक्रममा सहभागी भएका थिए ।
उनले हरेक महिनाको २ दिन सरसफाइमा सहभागी हुने बताएका थिए।
अभियानमा जनकपुर उप–महानगरपालिका, जनकपुर उद्योग वाणिज्य संघ र नागरिक समाजको सहयोगमा निजी विद्यालयको छाता संगठन प्याब्सन, एन प्याब्सन, मधेश प्याब्सनलगायताक संघ संस्थाहरू अभियानमा सहभागी भएका थिए।