नेपाल–भारत प्रबुद्ध समूहका भारततर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन्।
सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै कोशियारीले यस्तो विश्वास दिलाएका हुन्। उनले भने,‘आगामी दिनमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्द्रीत हुन्छ, भारत नेपालमा विकास भएको हेर्न आतुर छ, यहाँ स्थायित्व कायम होस्, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा नयाँ सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस्।’
साक्षात्कारमा बोल्दै उनले आगामी दिनमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप मजबुद हुने र विकास साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताए।
उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धको सवाल छ, म धेरै विश्वासका साथ भन्न सक्छु कि नेपालका जति पनि नेताहरू हुनुहुन्छ उहाँहरू सबैको भारतसँग राम्रो सम्बन्ध छ। जहाँसम्म पब्लिकको भारतसँगको सम्बन्धको कुरा छ। उहाँहरूको त झनै अटुट सम्बन्ध छ। म सोच्छु कि दूधमा यदि चिनी मिलाइयो भने तपाई चिनीलाई अलग गर्न सक्नुहुन्न। यस्तै, भारत र नेपालको सम्बन्ध छ। अहिले नेपालमा नयाँ सरकार बनेको छ । जनताको यो सरकारसँग धेरै ठूलो अपेक्षा छ।’
भाजपाका पूर्व उपाध्यक्ष समेत रहेका संयोजक कोशियारीले नेपाल बसाईको क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेको जनाए।
प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा के–के विषयमा छलफल भएको थियो ? भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,‘हेर्नुहोस्, जब वान–टु–वान भेटवार्ता हुन्छ, बैठकमा भएका कुराहरु हुबहु बाहिर ल्याउन मिल्दैन। मैले देउवासँग पनि भेटे गरें। प्रधानमन्त्री ओलीजीसँग पनि भेट गरें। प्रचण्डजीसँग पनि भेट गरें। मलाई राम्रो लाग्यो कि सबै नेताहरूले हामी भारतसँग कहिल्यै सम्बन्ध बिगार्नेबारे सोच्नपनि सक्दैनौं भन्नुभयो। उहाँहरूले यो त हामी सपनामा पनि सोच्न सक्दैनौं भन्नुभयो।’
कोशियारीले नेपाल–भारत सम्बन्ध यूनिक रहेको उल्लेख गर्दै भने,‘यो सम्बन्ध उदाहरणीय छ। नेपालका सबै नेताहरूले एउटै कुरा गर्नुभएको छ। उहाँहरू तीन जनाकै पार्टी अलग–अलग छन्। तर तीनै जनाको एउटै स्वर छ। भारतसँगको नेपालको सम्बन्ध सनातन छ। विकासको लागि मिलेर काम गर्ने उहाँहरूले मलाई आश्वासन दिनुभएको छ।’