नेपाली कांग्रेसको प्रदेश ५ मा संसदीय दलको नेता चुन्न अझै ढिलाइ हुने देखिएको छ।
फागुन ६ गतेको बैठकले आज (सोमबार) का लागि संसदीय दलको नेताको निर्वाचन गर्ने मिति तय गरेको थियो। यसअघि पनि संसदीय दलको नेता चयनको मिति दुई तीन पटक सारिएको थियो। तर, आजको संसदीय दलको निर्वाचन विथोलिएपछि अब अर्काे निर्वाचन कहिले हुन्छ? भन्ने एकीन गरिएको छैन।
स्रोतका अनुसार कांग्रेसको केन्द्रमा फागुन २१ गते संसदीय दलको नेता चयनको मिति तोकेको हुँदा अब त्यसपछि मात्रै प्रदेशमा संसदीय दलको नेता चयन हुनेछ।
प्रदेश नम्बर ५ मा संसदीय दलको नेता २६ गतेसम्म चयन गरिने एक नेताले अनुमान गरे। प्रदेश सरकार भने प्रमुख प्रतिपक्षी दलले कहिले संसदीय दलको नेता चयन गर्ला र प्रदेशको नामांकरण तथा स्थायी राजधानीको मुद्दा उठाउन सहजता हुने भन्ने प्रतिक्षारत रहेको बताउँछन्।
कांग्रेसले प्रदेशको संसदीय दलको नेता सर्वसहमतिमा चयनको प्रयास गर्दै आएको भए पनि त्यसले सार्थकता पाउन नसकेको एक नतोले बताए। ‘सकभर सर्वसहमतिमै नेता चयन गरौं भोलि काम गर्न सजिलो हुन्छ भन्ने मान्यता हो, तर त्यसैले गर्दा ढिलाइ हुँदै गएको छ,’ ति नेताले भने।
केन्द्रीय सदस्य तथा प्रदेश ५ को संयोजनको जिम्मा पाएका बालकृष्ण खाँणको उपस्थितिमा फागुन ६ गते बसेको बैठकले निर्वाचनका लागि बुद्धबहादुर थापाको संयोजकत्वमा वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे र अधिवक्ता राजन नेपाल रहेको निर्वाचन समिति गठन गरेको थियो।जसले आज(सोमवार) निर्वाचनको मिति तोकेको थियो।
उक्त निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्दै मतदाता नामावली प्रकाशन, दाबी विरोधको समय तोकेको भए पनि तोकिएको अवधिमा सहमति खोज्ने भन्दै सबै तालिका प्रभावित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया प्रभावित भएको स्रोतले जानकारी दिएको छ।
यसअघि उम्मेदवारी दर्ताका लागि सोमबार दिउँसो १ बजेसम्मको समय तोकिएको थियो। १ः१५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ३ बजेदेखि मतदान गर्ने गरि कार्यतालिका निर्वाचन समितिका संयोजक थापाले सार्वजनिक गरेका थिए।
खासमा कांग्रेस संसदीय दलको नेता बन्न आधा दर्जन बढीले आकांक्षी भएपछि समस्या उत्पन्न भएको नेता खाँणले सेतोपाटीलाई बताए।
‘धेरै साथीहरूले इच्छा देखाउनुभएको छ’,कांग्रेस केन्द्रीय सदस्य खाँणले भने–‘सकभर सहमतिमै नेता चुन्ने हाम्रो प्रयास रहनेछ।’
संसदीय दलको नेतामा दाङबाट निर्वाचन जित्ने एक्ला माननीय डिल्लीबहादुर चौधरी र रुपन्देहीका समानुपातिक सांसद बलदेव शर्मा पोखरेल दुवैले दाबी गरेपछि समहति कायम हुन नसकेको स्रोतले बताएको छ। शर्मा प्रदेश नम्बर ५ का जेष्ठ सदस्य हुन्। उनले नै सभामुख चयन हुनुपूर्व प्रदेशमा सभामुखको भूमिका निर्वाह गरेका थिए ।
संसदीय दलका प्रमुख आकांक्षीमध्ये चौधरी र शर्माको उमेरअन्तर झन्डै दोब्बरले फरक रहेको एकजना नेताले बताए।
त्यसैगरी, संसदीय दलको नेतामा वीरेन्द्र कनौडिया, वीरबहादुर राना, अर्जुनकुमार श्रेष्ठ, अष्ठभूजा पाठक, फकरुद्दिन खाँ र वैजनाथ जयसवालले पनि इच्छा देखाएका छन् ।
केन्द्रमा कांग्रेसको संसदीय दलको नेता चयन भएपछि त्यसपछि त्यसैको आधारमा प्रदेशको नेता चयन गर्न सहजता हुने भन्दै निर्वाचनको मिति सारिएको स्रोतले बताएको छ।
केन्द्रमा संसदीय दलको नेता चयन गर्नका लागि केन्द्रीय समितिको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्म आङ्दम्बे रहेको निर्वाचन समिति गठन गरिसकेको छ ।
केन्द्रमा फागुन २० गते मनोनयन दर्ता र २१ गते संसदीय दलको नेता मतदानमार्फत निर्वाचित गर्ने तयारी गरिएको छ। संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीचमा प्रतिस्पर्धा हुने लगभग निश्चित भइसकेको छ।