कांग्रेस युवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँग पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको मुद्दा, कांग्रेसको भविष्य र उनीमाथि युवाको साथ र परिवर्तनको मुद्दा छोडेको भनी लागेको आरोप लगायतका विषयमा शोभा शर्माले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
पार्टी प्रवक्ताको जिम्मेवारी लिनुभएको केही महिना भयो, कस्तो लागिरहेको छ? पार्टी कार्यकर्ताको नाताले म केन्द्रीय कमिटीभन्दा बाहिर हुँदा पनि कांग्रेसभित्रै थिएँ। अहिले कांग्रेसको केन्द्रभित्र आएको छु। प्रवक्ताको जिम्मेवारी महत्त्वपूर्ण र गम्भीर हुन्छ। नेपाली कांग्रेसको रूपान्तरणको लागि मैले प्रवक्ताको रूपमा काम गर्नुछ र त्यसप्रति म गम्भीर ढंगले समर्पित छु।
कांग्रेसमा युवा नेताहरूले पुनर्जागरण अभियान सुरू गर्दा तपाई पनि हुनुहुन्थ्यो। प्रवक्ता भएपछि त्यहाँ हुनुहुन्न। कसरी रूपान्तरणको पक्षमा हुनुहन्छ र? नेपाली कांग्रेस पार्टीलाई रूपान्तरण गर्ने भन्ने विषय विश्वप्रकाश वा अरु कोही साथीहरूको मात्र भन्ने त विल्कुल हैन नि। भर्खरै फागुन ७ गते दुईवटा भिन्न ठाउँमा साथीहरूले अभियान घोषणा गर्नुभो। एकातिर नवीन्द्रराज जस्ता साथीहरू हुनुहुन्थ्यो। अर्कातिर चन्द्र भण्डारीजीहरू हुनुहुन्थ्यो। हिजो मात्र कांग्रेसका अरु साथीहरूले कांग्रेस रूपान्तरणको घोषणा गर्नुभो। यी ठाँउ–ठाउँबाट भएका भेलाहरूबाट उर्जा ग्रहण गरेर नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले एउटा संगठित रूपान्तरणको अभियानलाई अगाडि बढाउँछ। बढाउनुपर्छ। बाहिर भएका छलफलमा समाविष्ट रहेर गर्ने एउटा सम्भावना छँदै थियो। यसलाई ‘कोअर्डिनेट’ गर्ने, कम्तिमा ठाउँठाउँका फूलका थुङ्गालाई गाँस्ने कुराको जिम्मेवारी चलाउनु भनेको रूपान्तरणको अभियानभन्दा अलग हुनु हैन।
कांग्रेसभित्रको एउटा पुस्ताले बिदा लिनुपर्ने बेला भयो भन्ने कुरा उठिरहेको छ। कार्यकर्ता र जनस्तरबाटै यस्ता आवाजहरू आइरहेका छन्। तर तपाई त कांग्रेसमा ‘एज हैन एजेण्डा’ले नेतृत्व गर्छ भनिरहनुभएको छ? आजभन्दा चार वर्षअघि पनि राजनीतिमा काम गर्ने एउटा उमेर तोक्नुपर्छ भन्ने बहस चलेको थियो। खासगरी बाबुराम भट्टराईले यसलाई चर्चामा ल्याउनु भएको थियो एमालेभित्र पनि यही कुरा चलिरहेको थियो। त्यो बेला मैले एउटा लेख लेखेको थिएँ, ६० मा बिदा गर्ने कि सिष्टम बसाउने? यो कुरा मैले अहिले मात्र हैन जहिले पनि भन्ने गरेको छु। राजनीतिलाई 'एजले हैन एजेण्डा’ले नै ड्राइभ गर्ने हो। त्यसको अर्थ पाको मान्छे बन्नु भो र उहाँ नै रहिरहने भन्ने पनि होइन। अर्कोतिर कलिलो एजमा मलिलो एजेण्डा भएको कोही छ भने उसलाई उमेर पुगेको छैन भन्नु पनि हुँदैन। उमेर पुगेको मानिस कर्म गरेर लागिरहन्छु भन्छ भने त उसलाई पनि रोक्न मिल्दैन।
राजनीतिमा कोही बेला ८६ वर्षको गिरिजाप्रसाद कोइराला अघिअघि र ५६ वर्षको पुष्पकमल दाहाल पछिपछि पनि हुन्छ। कुनै बेला ४६ वर्षको बाराक ओवामाले ६२ वर्षको जोन मक्केनलाई हराउन सक्छन्। कोही बेला पाको उमेरको मोदीले तन्नेरी राहुललाई हराएर अघि बढ्छन्। त्यसले के बताउँछ भने, एज हैन एजेण्डा प्रधान हो। 'एज र एजेण्डा' भन्दा पनि ठूलो कुरा चाहिँ उर्जा हो। उमेर छ उर्जा छैन, एजेण्डा छ तर उर्जा छैन भने त्यसको अर्थ छैन।
https://www.youtube.com/watch?v=QOWguMfbE-I
तपाईको पार्टीमा शेरबहादुर ७३ वर्षको हुनुहुन्छ, रामचन्द्र पनि त्यही उमेरको हुनुहुन्छ। अर्को चुनावमा त उहाँहरू ८० हाराहारीमा पुग्नुहुन्छ के अब पनि कांग्रेसको नेतृत्व उहाँहरूले नै गर्ने हो?यसलाई यसरी हेर्नुपर्छ– कुनै नेता एक्कासी ७५ वर्ष पुग्ने हैन। उमेर भनेको सडकमा एक्कासी हुने दुर्घटना जस्तो हैन। हामीले उमेरको कुरा गर्दै गर्दा विधिको कुरालाई नजर अन्दाज गर्नु हुन्न। कुनै घटनाक्रममा हामी कमजोर भयौँ भन्ने लाग्यो भन्दैमा तत्काल नेतृत्व हटाइहालौँ भन्नु हुन्न। त्यसको एउटा निश्चित विधि प्रकृया हुन्छ। एउटा अमुक नेता ७५ वर्ष हुनुहुन्छ, अर्को ७३ वर्ष हुनुहुन्छ भन्दैछौँ। उहाँहरू अस्ति मंसिर २१ गते झ्याप्पै ७५ वर्ष पुगेको हो र? यसअघिको महाधिवेशनमा ७१ हुनुहुन्थ्यो होला त्यही बेलादेखि यी कुराहरू उठाएनौँ कि? हेक्का पुराएनौँ कि?
https://www.youtube.com/watch?v=jdgdBddOhLw
७५ वर्षसम्म पनि गर्न नसकेको काम अब गर्न सक्नुहोला त?गिरिजा प्रसाद कोइरालाको कालखण्ड हेर्नुभो भने उहाँ युवा उमेरमा सबैभन्दा आलोचित हुनुभयो। पछिल्लो कालखण्डमा उहाँ सफल हुनुभो। कुनै विषयलाई र व्यक्तिलाई हेरेर सिद्धान्त बनाउनु हुन्न भन्ने मेरो कुरा हो। महाधिवेशन आउन दुई–अढाई वर्ष बाँकी छ। महाधिवेशनपछि पनि उहाँहरू नै हुने भन्ने समय सापेक्ष निश्चय नै हुने छैन। महाधिवेशनपछि उहाँहरूले छोडेर अरू नयाँ व्यक्ति नेतृत्वमा आउने कुरा सान्दर्भिक हुनेछ। अर्को चुनावसम्म कांग्रेसलाई दुई खण्डमा हेर्नुपर्छ । अबको दुई वर्षसम्म यही कांग्रेस हुनेछ। महाधिवेशनपछि अर्को कार्यसमिति आउने छ। ती दुवैलाई हामीले हेर्नुपर्यो।
हामीले रूपान्तरणको क्रमलाई सुरू गर्ने हो। भनिन्छ एक मिनेटमा दुनियाँ बदलिँदैन। तर एक मिनेटमा गहिरो गरी सोचेको कुराले दुनियाँ बदलिन्छ। अहिले नेपाली कांग्रेसले दूरगामी हिसाबले सोचेर यहाँसम्म जान्छौँ, सबैलाई जोडेर एकभएर जान्छौँ, पाको होस् वा युवा होस् मिलेरै जान्छौँ भन्ने सोच्ने हो। युवाको बढोत्तरी हुनै पर्छ। प्रतिनिधित्व बढ्नैपर्छ। तर हामी पनि कस्तो छौँ भने, भन्ने बेलामा युवाको बढोत्तरी हुनुपर्छ भन्छौँ। कोही युवा जिम्मेवारीमा पुग्यो भने युवालाई पाकाहरूले फुटाउनतिर लागे भनेर सोच्छौँ।
पार्टीभित्र नेतृत्व परिवर्तनको, पुस्ता परिवर्तनको मुद्दा उठ्यो। र अभियान नै सुरू भयो। त्यसपछि सभापति देउवाले त्यो अभियान छिन्न–भिन्न पार्न, युवाहरूबीच विभाजन ल्याउन तपाईलाई प्रवक्तामा नियुक्ति गर्नुभयो भन्ने छ नि? त्यो विल्कुल गलत हो। युवाहरूको प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज उठाउने तर उसले जिम्मेवारी पाएपछि विभाजन गर्यो भन्ने। हामीले युवा एकातिर र पाका एकातिर गरेर कबड्डी खेल्ने हो र? त्यो त हैन नि। हिजो विश्वप्रकाश शर्मा झापामा चुनाव लडेर हार्यो। ओहो हार्यो, सहानुभूतिको पात्र। केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरिनँ, बाहिर पर्यो सहानुभूतिको पात्र। विद्यार्थीका सबै पूर्व सभापतिहरूलाई केन्द्रमा ल्याइयो विश्वप्रकाश छुट्यो, राम्रो मान्छे छुट्यो भन्ने। के साथीहरूको अपेक्षा म सहानुभूतिको पात्र मात्र बनिरहुँ भन्ने हो? त्यसो हो भने, त्यो गलत हो।
कांग्रेसको पराजयको एउटा प्रमुख कारण कांग्रेसले आफूलाई ठीक समयमा ठीक कुरा सम्प्रेषण गर्न नसक्नु पनि हो।
अहिले पार्टीमा प्रवक्ता भएयता मिडिया र पार्टीबीच सहजता पो हुँदै छ कि? कांग्रेसले ठीक समयमा ठीक धारणा पो राख्दै छ कि? प्रवक्ता भएपछि तपाईले पार्टी सुधारका कुराभन्दा सभापति शेरबहादुर देउवा सुन्न चाहनुहुन्छ त्यो मात्र बोल्नुभयो, उहाँहरूको प्रतिरक्षा मात्र गर्न थाल्नुभयो भन्ने आरोप छ नि?
नेपाली कांग्रेस पार्टीको सन्दर्भमा मैले राख्ने दृष्टिकोण जुन हो त्यो कसले कसरी सुन्नुहुन्छ? भन्ने बेग्लै हो। अहिले जसलाई भएपनि प्रवक्ता त नियुक्त गर्नै पर्थ्यो। परिवर्तनको संकेतका हिसाबले विश्वप्रकाशलाई प्रवक्ता बनाइएको छ भन्ने आवाज देशव्यापी रूपमा मैले बढी सुन्ने गरेको छु।
त्यसो भए युवाको कुरा सुन्न तपाईँलाई नियुक्त गरिएको हो?त्यस्तो पनि हैन। कांग्रेसले युवाहरूको कुरालाई विगतदेखि नै निरन्तर सुन्दै आएको छ। जस्तो गणतन्त्रमा जाने भनेर पाका नेताले भन्दा त युवा नेताले पहिले भनेको हो नि। पछि पार्टीले ग्रहण गरेको हो। यस्ता कुरा पार्टीले भन्दा दुई कदम अघि युवाले भन्छन् र पछि पार्टीले मानेको हुन्छ। युवाको प्रतिनिधित्वको विषयका दुई आयाम हुने गर्छन्। एउटा युवाको मुद्दागत प्रतिनिधित्व र अर्को भौतिक प्रतिनिधित्व। कांग्रेस रूपान्तरण पनि यी दुई हिसाबले नै हुने हो। एउटा युवाहरूको प्रतिनिधित्व बढाउने र अर्को समग्र कांग्रेसलाई नै एजेण्डागत हिसाबले तरुण बनाउने। तन्नेरी ‘स्पिरिट'को बनाउने।
त्यही तन्नेरी 'स्पिरिट' विश्वप्रकाशले बोल्न छोडे भनेर सामाजिक सञ्जालदेखि पार्टी कार्यकर्ताबीच पनि तपाईको आलोचना हुने गरेको छ नि अहिले?बोल्न छोड्यो भनेर केलाई भन्न खोजेको मैले बुझिनँ। हामी बदलिनुपर्छ कांग्रेस बदल्नुपर्छ त मैले भन्दै आएको छु। जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिन्नन् उनले बिदा लिन्छन् पनि मैले भनेकै छु। फलानो व्यक्तिहरू खराब हुन भन्नेलाई मात्र बोलेको भन्ने हो भने त्यो त मैले प्रवक्ता हुनु पनि बोलेको थिइनँ। प्रवक्ता बन्नु अघि र पछिको मेरो कुरा भिन्न छैन। कसैले कांग्रेस अहिले ठीकठाक छ, यो रूपान्तरण नै हुनुपर्दैन कसैले भन्छ भने त्यो कांग्रेस नै होइन। फेरि सडकबाट रूपान्तरण, रूपान्तरण भन्दै आकाशमा परेवा उडाएर शान्ति खोजेजस्तो पनि होइन। कांग्रेसलाई संगठित बनाएर लाने हो। छलफलबाटै उर्जा ग्रहण गर्ने हो।
https://www.youtube.com/watch?v=Ox5bHHSwIdc&t=4s
भिडियोः रमेश कार्की/सेतोपाटी