सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बन्नु सुखद भएको बताएका छन्।
आइतबार काठमाडौंमा सम्पन्न नेपाल–भारत प्रबुद्ध समूहको सातौं बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीको सफल कार्यकालको कामना पनि गरे। समूहको बैठकले नेपाल–भारतको सम्बन्धलाई अझै उचाइमा पुर्याउने दुवै देशका प्रतिनिधिहरूले दाबी गरेका छन्। कोशियारीले समूहले तयार पार्ने प्रतिवेदनले नेपाल–भारत दुवै देशको सरकारलाई मान्य हुने दाबी समेत गरे।
नेपाली पक्षका प्रतिनिधि भेषबहादुर थापाले समूहको बैठकले दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने काम गरिरहेको दाबी गरे। बैठकमा सन् १९५० को सन्धिदेखि दुई देशको व्यापार, पारवहन, सीमा सुरक्षा, अपराध नियन्त्रणलगायतका समग्र विषयमा छलफल गरिएको थियो।
प्रबुद्ध समूहको अवधि अब ७ महिना बाँकी छ। सोही अवधिभित्र प्रतिवेदन बुझाउने तयारी गरिएको छ। प्रतिवेदनले २ देशबीचको सम्बन्धलाई अझै उचाइमा पुर्याउने दाबी गरिएको छ।