नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले संसदीय दलको नेता चयनको लागि फागुन २१ गते मिति तोकेको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सो मिति तय गरेको हो।
बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्म आङ्दम्बे रहेको निर्वाचित समिति बनाएको छ।
फागुन २० गते मनोनयन हुने र २१ गते संसदीय दलको नेता चयन कार्यक्रम तय गरिएको छ।
बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन पनि गरेको छ।
सभापति शेरबहादुर देउवा आफैँ संसदीय दलको नेता बन्न लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आक्रोशित भएको छ। निर्वाचनमा हार व्यहोरेपछि पार्टी नेतृत्वले दलको नेतामा दाबी गर्न नमिल्ने तर्क गर्दै पौडेल पक्षले संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहलाई उठाउने तयारी गरेको छ ।
कांग्रेसले निर्वाचनको समिक्षा गर्न भने अर्को केन्द्रीय कार्य समितिको विस्तारित बैठक बोलाउने पनि प्रवक्ता शर्माले जानकारी दिए।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकले छायाँ सरकार बनाउने लगायतका प्रस्तावसहितको विधान पारित गरेको थियो।