नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दाबी गरेका छन्।
अध्यक्ष दाहालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल पनि सरकारमा आउने र नयाँ सरकार दुई तिहाई बहुमतसहितको हुने प्रष्टयाएका हुन्।
उनले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरू गर्नुभन्दा पनि ठूलो उपलब्धी भएको दाबी समेत गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसियाली छाउनु ठूलो उपलब्धी भएको तर्क गरे। उनले बामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरू आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष दाहालले पहिलो पटक नेपालमा बामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको उल्लेख गर्दै त्यसको रक्षा गर्न बुद्धि लगानुपर्ने आवश्यकता पनि औंल्याए।
कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य जनक शाहलाई अध्यक्ष दाहालले पार्टीका प्रवेश गराएका थिए। शाह बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बजेट निर्माण कार्यदलमा थिए।
उनले प्रदेशसभा चुनावमा वामगठबन्धनकी उम्मेदवार गरिमा शाहलाई सहयोग गर्ने औपचारिक घोषणा नै गरेको थियो।