नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले दोस्रो पुस्ताको नेतालाई अघि सार्नुपर्ने स्पष्ट पारेका छन्।
बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै यादवले संसदीय दलको नेतामा सभापति देउवाले आफूलाई अघि सार्न नहुने धारणा राखे।
उनले भने,‘सभापतिले अब संसदीय दलको नेता बन्न जोड गर्नुहुँदैन, बरु उहाँले अब दोस्रो पुस्ताको नेतालाई दिनुपर्छ।’
यादवले सकेसम्म दलको नेता सर्वसम्मतीमा चयन गरिने पनि विश्वास दिलाए।
साक्षात्कारमा बोल्दै उनले अहिलेको जनमतलाई सम्मान गर्दै आफूहरू आगामी पाँच वर्षसम्म सशक्त प्रतिपक्षको भूमिकामा बस्ने विश्वास दिलाए।
उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई हामी गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौं।’
उनले वाम गठबन्धनको सरकारले जनतामा गरेको वाचा अनुसार काम गर्नको लागि आफूहरूको शुभकामना छ भने।
निवर्तमान मन्त्री समेत रहेका यादवले भने,‘स्थायी सरकार बनोस्, संविधानहित अनुसार सरकारले काम गरोस्, मुलुकलाई समृद्धितिर डोर्याओस्।’