१२ वर्षअघि जिल्ला अस्पतालका रूपमा रहेको कटकुवा स्वास्थ्य चौकीलाई वीरेन्द्रनगरको कालागाउँमा सारेर क्षेत्रीय अस्पताल नामाकरण गरियो।
सुर्खेतसहित मध्यपश्चिमका सबै जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको अस्पतालको अघि क्षेत्रीय थियो तर सेवासुविधा जिल्ला अस्पतालको जति पनि थिएन। पछिल्लो एक वर्षमा भने अस्पतालको मुहार फेरिएको छ। भौतिक पूर्वाधार सँगै प्रविधि र सुविधा पनि थपिएका छन्।
सुरूमा ५० शैयाको स्वीकृति पाएको अस्पतालले अहिले ११५ शैयाबाट सेवा प्रवाह गर्दै आएको छ। अस्पताल ३५० शैयाको बनाउन थप भवन पनि बनिरहेका छन्।
‘पहिले साँघुरो भवन थियो। त्यसमाथि दरबन्दीभन्दा एकदमै थोरै डाक्टर हुन्थे,’ अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले भने, ‘तर अहिले धेरै फरक भैसकेको छ, दरबन्दी अनुसार पूरा नभए पनि सहज हुने गरी चिकित्सकको संख्या छ, केही नयाँ भवन पनि बनेका छन्, केही बन्दै छन्।’
प्रदेशमा पहिलो पटक डायलासिस सेवा सुरु गरेको अस्पतालले पुरानै शुल्कमा गुणस्तरीय सेवा दिइरहेको छ। बिरामीले मृर्गौला प्रत्यारोपाण अगाडि गर्नुपर्ने हेमो डायलसिसका लागि मध्यपश्चिम क्षेत्रीय अस्पतालले पहिलो पटक यस्तो सेवा सुरू गरेको हो।
डायलासिस गर्न सरकारले दुई मेसिन दिएको छ भने अस्पताल पनि दुईटा मेसिन किनेको छ।
अस्पतालले अहिले आइसियू, एनआइसियू, डायलासिस तथा आफ्नै फार्मेसी सेवा अस्पतालले सञ्चालन गरिरहेको छ। अतिरिक्त सेवाका रूपमा अस्पतालले संकट व्यवस्थापन एकद्वार प्रणाली (ओसीएमसी) र विस्तारित अस्पताल सेवा (इएचएस) पनि सुरू गरेको छ।
बस्नेतका अनुसार अस्पतालमा १९ जना विशेषज्ञ डाक्टर छन्। यसले जटिल रोगको उपचार गर्न यो क्षेत्रका बिरामी नेपालगञ्ज, काठमाडौं जानुपर्ने बाध्यता हटेको छ।
अस्पतालको मुहार फेरिँदै जानुमा नेपाल सरकारसँगै अन्य सरोकारवाला निकाय तथा समाजसेवीको सहयोग महत्वपूर्ण रहेको अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डाक्टर डम्बर खड्काले बताए।
‘नागरिकलाई प्रभावकारी सेवा दिन सबैको साथ र समर्थनबाट अस्पताल यहाँसम्म आइपुगेको छ,’ खड्काले भने, ‘यस्तो साथ र हाम्रो मेहनतबाट यो अस्पताललाई प्रदेशकै नमुना अस्पतालका रूपमा विकास गर्नेछौं।’
अस्पतालमा सुर्खेतसहित हुम्ला, मुगु, अछाम, कालिकोट, जुम्ला, डोल्पा, जाजरकोट दैलेख, सल्यानका बिरामी उपचार गर्न आउँछन्।
आर्थिक वर्ष २०७३/०७४ मा मात्रै १ लाख ९७ हजार नागरिकले सेवा लिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ४१ जनाको दरबन्दी भने अझ अभाव छ।
जनशक्ति परिपूर्ति गर्न र आवश्यक स्रोत साधनहरु थप्न प्रदेश सरकारले विशेष पहल चाल्नु पर्ने मेडिकल सुपरिटेन्डेन्ट खड्काको भनाइ छ।
सेवा जनमुखी बनाउँछौं : अध्यक्ष सापकोटामध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद सापकोटाले अस्पतालको सेवालाई जनमुखी बनाउने बताए।
अस्पतालमा सेवा लिन आउनेलाई अस्पतालबाट दिइने सेवा तथा सेवा लिने तरिकाबारे थाहा नहुने भएकाले जनमुखी अस्पताल बनाउनु पर्ने बताए।
‘अस्पतालमा आउने सर्वसाधारणलाई अस्पतालबाट सेवा कसरी लिने, कुन फाँटमा जाने जस्ता कुरामा अलमलमा हुन्छन्,’ उनले भने, ‘त्यस्ता सर्वसाधारणले सहज रूपमा सेवा लिन पाउने गरी अस्पतालको विकास गर्छौं।’