विप्लव माओवादी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुईवटा उपमहानगरपालिका र एउटा नगरपालिकाका वडाअध्यक्ष तथा सचिवहरूसँग तोकेरै चन्दा मागेपछि दाङका जनप्रतिनिधि आतंकित भएका छन्।
तुलसीपुर र घोराही उपमहानगरपालिकामा १९ वटै र लमही नगरपालिकाका नौवटै वडा अध्यक्ष र सचिवहरूसँग फोन तथा भेटका आधारमा चन्दा माग्न थालिएको जनप्रतिनिधिहरूले बताएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष चित्रबहादुर वलीले फोनमा तोकेरै आफूसँग दश हजार चन्दा मागिएको सेतोपाटीलाई बताए।
त्यस्तै, नेकपा एमाले वडा नम्बर १८ बाट निर्वाचित अध्यक्ष माधव वली, लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुरज पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष गणेशमान चौधरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डे, वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डे र वडा नम्बर ३ का वडा अध्यक्ष माधवप्रसाद चौधरीले पनि आफूहरूलाई पटकपटक चन्दाका लागि धम्कीपूर्ण आदेश आउने गरेको जानकारी दिए।
जिल्लाका दुई उपमहानगरपालिका र एउटा नगरपालिकाको वडा अध्यक्ष र सचिवहरूमा विप्लवका कार्यकर्ताको चन्दा आतंका व्याप्त पाइएता पनि थप सातवटा गाउँपालिकाका प्रमुख र वडा अध्यक्षसँग भने त्यस्तो माग नगरिएको पाइएको छ।
दंगिशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा खड्का र शान्तिनगर गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले भने विप्लवको चन्दा आतंकबारे आफूहरू हालसम्म अनभिज्ञ रहेको बताए।
यसरी पटक/पटक आएको चन्दा आतंकलाई मध्यनजर गर्दै अबको कार्यापालिकाको बैठकले उनीहरूको आगामी कदमका बारेमा छिनोफानो गर्ने तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यले बताइन्। उनले हालसम्म आफूलाई भने व्यक्तिगत रूपमा चन्दाका लागि कुनै दबाब नआएको उदृढ गरिन्।
यद्मपी लमही नगरपालिकाका मेयर कुलप्रसाद केसीले भने विप्लवका कार्यकर्ताले चन्दा माग्दै धम्की दिने गरेको गुनासा धेरै वडा अध्यक्षहरूबाट आएको बताउँदै उनले भने, ‘नगरपालिकाले ५ सयसम्म चन्दा दिन मिल्छ त्यो भन्दा दिन मिल्दैन यही भन्नुहोला भनेकोछु,’– मेयर केसीले सेतोपाटीलाई भने ‘तोकेर माग्ने पनि चन्दा हुन्छ? लोकतन्त्रमा जबरजस्ती गर्ने छुट राज्यले कसैलाई दिनेछैन।’
यता नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी विक्रमले पार्टीका राष्ट्रियस्तरका कार्यक्रम सफल पार्न सहयोगस्वरूप पार्टीले वडा अध्यक्षसँग दश हजार, नगरपालिका र गाउँपालिकासँग ५० हजार र उपमहानगरपालिकासँग एकलाख रुपैयाँ चन्दा मागेको स्वीकार गरेका छन्।
नेकपाका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सेक्रेटरी बलबहादुर वली (सितल)ले चन्दा आतंक सृजना गरेको भन्ने तथ्य गलत भएको बताउँदै आफूहरूले राष्ट्रिय सम्मलेनका लागि सबैसँग सहयोग र स्वच्छिक चन्दाको लागि आह्वान गरेको जनाए। उनले अवस्था हेरी विशेष गरी व्यापारीहरूबाट ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँ र त्यो भन्दामाथि चन्दा मागेको उनले बताए।