सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको सदुपयोगलाई उच्च प्राथमिकता दिने बताएका छन्।
सचिव भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको माध्यमबाट मध्यम र तल्लोस्तरका जनतालाई राज्यको सेवा र सुविधाको पहुँचमा ल्याउने लक्ष्य लिने पनि स्पष्ट पारेका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाजवादीको आधार निर्माण गर्ने संवैधानिक लक्ष्य पूरा गर्न पनि सूचना प्रविधिको भरपुर सदुपयोग गर्नुपर्ने स्मरण गराए। सचिव भट्टराईले सूचना प्रविधिको सही सदुपयोग गर्न नसके नेपालको राष्ट्रियता नै संकटमा फस्ने चेतावनी समेत दिए।
सचिव भट्टराईले सूचना प्रविधिको प्रयोगबाट समाजमा विद्यमान आर्थिक–सामाजिक लगायतका विभेद् न्यूनीकरण गर्दै लैजानुपर्नेमा पनि जोड दिए।