जनकपुर उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने भएको छ।
बुधबार बसेको प्रथम नगरसभाले नगर क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने प्रस्ताव पारित गरेको हो। उपमहानगरपालिकाका मेयर लालकिशोर साहले चालू आर्थिक वर्षका लागि १ अर्ब ७४ करोड ५१ लाख ४० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए।
बजेटले नगर क्षेत्रको पूर्वाधार विकासलाई विशेष जोड दिने मेयर साहले जानकारी दिए। त्यसैगरी, फोहरमैला व्यवस्थापन र ढल निर्माणको कामलाई पनि उपमहानगरपालिकाले प्राथमिकता दिनेछ।
धार्मिक पर्यटकीय नगरी जनकपुरलाई अझै व्यवस्थित बनाउने गरी मठमन्दिर निर्माणको कामलाई अघि बढाउने योजना पनि तय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
मेयर साहले सामाजिक विकास, वातावरण संरक्षण र स्वच्छ पर्यटकीय नगरी आफूहरुको प्राथमकिता रहेको पनि स्पष्ट पारे।