नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिने बताएका छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भीक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए।
‘हामीले हिजो दुईवटा कार्यदल बनाएको छौं। यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ।’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउछौं।’
नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिक रूपमा नयाँ दलका रूपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए।
अध्यक्षले भने, ‘सैद्धान्तिक र व्यवहारिक किसिमले हामी एकै कम्युनिष्ट पार्टी भइसक्यौं। तर कानूनी रूपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै हामी नयाँ पार्टी हुन्छौं।’
अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्ष ‘सह–अध्यक्ष’का रूपमा रहने बताए। बैठकको अध्यक्षता आलोपालो गरिने गरि नयाँ पार्टीमा दुवै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर समेत रहने उनले जानकारी दिए।
पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउनु हुँदै अध्यक्ष प्रचण्डले देशमा स्थायित्व, समृद्धि र सुशासनका लागि एकताले ठूलो धरातल तयार पारेको बताए।
अध्यक्ष प्रचण्डले भने, ‘हामीले निर्वाचनअघि जनतासँग चुनावपछि पार्टी एकता हुनेछ, देशमा राजनीतिक स्थायित्वका लागि सम्पूर्ण तागत लगाइनेछ र आर्थिक विकास र समृद्धिमा ध्यान केन्द्रीत गरिने छ भनेर प्रतिबद्धता र संकल्प गरेका थियौं । आज तपाईहरूसँग एकता हुने निर्णय भएपछि भेट भएको छ। यो ऐतिहासिक परिघटना र नेपाल राष्ट्रका लागि दूरगामी परिघटना हो। यसले २०१९ साल देखि टुटफूट हुँदै आएको कम्युनिष्ट आन्दोलनमा गुणात्मक फड्को मारेको छ।’
विचारमा फरक मत राख्ने कांग्रेसलगायतका साथीहरूलाई पनि सुशासन, समृद्धि र विकासका हितमा यो कदम सबैका निम्ति गर्व गर्न लायक रहेको सन्देश अध्यक्षले दिए। पार्टी एकतालाई लिएर दुवै पार्टीभित्रका सबै असन्तुष्टि समेत समझदारीसँगै अन्त्य भएको उनको भनाइ थियो।