नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनेबारे छलफल चलेको बताउँदै दोहोरिने सम्भावना रहेको बताएका छन्।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘हो, राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउनेबारे छलफल चलेको छ, उहाँहरूकै निरन्तरता हुने पनि बलियो संभावना छ।’
यसका साथै, उनले भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउने पनि स्पष्ट पारेका छन्। साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने,‘भोलि नै हामी सरकार विस्तार गर्छौं, मन्त्रिमण्डलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिस गरिसकेको छ, अब कतिपय मन्त्रालयहरू मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन्।’
उनले अबको सरकार मिशन ओरियन्टेड हुने विश्वास दिलाए। उनले भने,‘हाम्रो सरकार मिसन ओरियन्टेड हुन्छ, १०–५ कार्यालय आउने/जाने, रिवन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकी हामी अग्निपरिक्षामा छौं।’ उनले सुशासन र आर्थिक समृद्धि हासिल गर्नको लागि सरकारले दत्तचित्त भएर काम गर्ने पनि विश्वास दिलाए।
उनले सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तीव्र आर्थिक वृद्धि हासिल गर्ने रहेकोले त्यसको लागि समावेशीतासहितको योग्यतम टिम पठाउने पनि स्पष्ट पारे।
ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँच वटा रहेको पनि सुनाए। उनका अनुसार पहिलो लक्ष्य लोकतन्त्रको सुदृढिकरण, दोस्रो राष्ट्रिय हितको रक्षा, तेस्रो, सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हासिल गर्ने (सर्वोच्च प्राथमिकता तीव्र आर्थिक वृद्धि) गर्ने र यसको लागि राज्यको लगानी बढाउने। त्यस्तै, पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरूको सफल कार्यान्वयन गर्ने रहेको छ।
सचिव ज्ञवालीले वर्तमान सरकारको परराष्ट्र नीति सन्तुलित र परिपक्व हुने पनि बताए। उनले भने,‘हाम्रो परराष्ट्र नीति सन्तुलित हुन्छ, परिपक्व हुन्छ, राष्ट्रिय हितका आधारमा हामी दुवै छिमेकी मुलुकसँग असल सम्बन्ध राख्नछौं।’ उनले द्विपक्षीय लगायत छिमेक सम्बन्ध अब विकासमा केन्द्रीत हुने पनि स्पष्ट पारे।
ज्ञवालीले भने,‘भारत र चीन दुवै छिमेकीसँग घनिष्ठ सम्बन्ध राख्छौं, हाम्रो मुलुकको हित अनुसार अघि बढ्छौं, राष्ट्रिय हित नै हाम्रो सर्वोपरि प्राथमिकतामा पर्छ, विदेश सम्बन्ध आर्थिक रूपमा केन्द्रीत गर्छौं।’ उनले नेपालको परराष्ट्र नीति अब पूर्नपरिभाषित गरिने पनि जनाए।